प्रहरी एसएसपीसहित सात प्रहरीकोको मृत्यु भएपछि सेना परिचालन गर्ने निर्णय


नेपाल सरकारले केही जिल्लाको शान्तिसुरक्षाको दृष्टिगत गरी दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश दिएको छ ।सुरक्षा समितिको बैठकले कैलाली, सर्लाही, रौतहट लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐनअनुरुप सो आदेश दिएको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका–संसद्मा जानकारी दिनुभएको हो । कैलालीको टीकापुर घटनाका बारेमा सदनलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रदर्शनकारीले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेलाई भालाले घोपेर, सशस्त्र प्रहरीका हबलदार राम विराहीलाई जिउँदै जलाएर र अन्य तीन प्रहरीलाई काटेर मारेका छन् ।” घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही जवान हराइरहेका जानकारी दिँदै उहाँले प्रदर्शनकारी टीकापुरका स्थानीयवासीका घरमा लुकेर बसेको बताउनुभयो । गृहमन्त्री गौतमले  दिउँसो ११ बजे टीकापुर क्षेत्रमा चारैतिरबाट हातमा बन्चरो, खुँडा लिएर आएकाले टीकापुरको निषेधित क्षेत्र तोड्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दी तोडेर आक्रमण गर्न थालेको गृहमन्त्रीले जानकारी दिनुभयो । “आइतबार कैलालीमा थरुहट, अखण्ड सुदूरपश्चिम तथा दलका प्रतिनिधिका बीचमा सद्भाव कायम राख्दै उत्तेजना, जातीय सद्भाव खलबलिने कार्यक्रम नगर्ने सहमति भएको तर सहमतिको एक दिन बित्न नपाउँदै सो घटना घट्नु दुःखद हो”, गृहमन्त्री गौतमले भन्नुभयो । यसैगरी प्रदर्शनकारीले रौतहटको गौरमा प्रदर्शनी गरिरहेको र उनीहरुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अदालतमाथि आक्रमण गर्न सुरु गरेको जानकारी उहाँले सदनलाई गराउनुभयो । यसैगरी सर्लाहीको मलङ्गवामा पनि प्रदर्शनकारीले प्रदर्शन गरिरहेको जानकारी गराउँदै उहाँले संविधान जारी गर्ने अन्तिम समयमा आएर जातीय र क्षेत्रीय सद्भाव नभड्काउन आह्वानसमेत गर्नुभयो । Kailali

कैलालीको टीकापुरमा आन्दोलनकारी थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात  जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । झडपमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेको मृत्यु भएको हो । मृत्यु हुने अन्यमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा छन् । यसैगरी, दुईजना प्रहरी जवानको समेत झडपमा परी मृत्यु भएको बताइएको छ । सशस्त्र प्रहरीतर्फ र प्रदर्शनकारीतर्फ मृत्यु हुनेको नाम खुल्न सकेको छैन ।
सुरक्षाकर्मीको प्रशंसा
गृह मन्त्रालयले कैलालीको टीकापुरमा थरुहट प्रदेशको माग गर्ने अनियन्त्रित र अराजक भिडले घरेलु हातहतियारबाट आक्रमण गरी राष्ट्रसेवक प्रहरीको हत्या गरेको जनाएको छ । विज्ञप्ति जारी गरी मन्त्रालयले हातमा लाठी, भाला, हँसिया, बन्दुकसमेत हतियार लिई निषेधित क्षेत्र तोड्दै सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी गर्ने ध्ंवसात्मक गतिविधि गर्न लागेकाले प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि लाठी, भालासमेतका हतियार प्रयोग गरी नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित चार जना र सशस्त्र प्रहरी बलका दुई जनाको हत्या गरेको जनाएको छ । सोही क्रममा आन्दोलनकारीतर्फमेत तीन जनाको मृत्यु भएको भन्ने बुझिन आएको र सो सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । झडपका क्रममा केही व्यक्ति घाइते भएको जानकारीसमेत प्राप्त भएको र घाइतेको उद्धारका लागि तत्काल नेपाली सेनाको हेलिकप्टर काठमाडौँबाट टीकापुर पठाइएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । टीकापुर क्षेत्रमा थप हिंसात्मक तथा ध्वंसात्मक कार्य हुन नदिन स्थानीय प्रशासनले आज अपराह्न ४ बजेदेखि पूर्वमा कर्णाली नदी, पश्चिममा नुवा, उत्तरमा पथरैया र दक्षिणमा नारायणपुर गाविसलाई चार किल्ला तोकी दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
नेता नेपालका घरमा ढुङ्गामुढा
रौतहट जिल्लामा आन्दोलनकारीले अदालत, नापी कार्यालयमा ढुङ्गामुढा गरी केही झ्यालका सिसा फुटाएका, भन्सार कार्यालयमा पुगी भन्सारको बेरियरमा ताला लगाएको र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमासमेत ढुङ्गामुढा प्रहार गरी क्षति पु¥याएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सदरमुकामस्थित गौर नगरपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । महोत्तरी जिल्लामा संयुक्त मधेसी मोर्चाका आन्दोलनकारीले साना तथा घरेलु कार्यालयमा सेवाग्राहीका रुपमा प्रवेश गरी कार्यालयमा तोडफोड गरेका छन् भने रुकुम जिल्ला सदरमुकाममा आन्दोलनकारीले निषेधित क्षेत्रतर्फ जाने क्रममा बाटामा रहेका अस्थायी प्रहरी चौकीमा आगजनी गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तीन जना आन्दोलनकारी घाइते भएको र तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्रालयले आफ्नो कर्तव्यपालनका सिलसिलामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कैलाली टीकापुरमा कार्यरत सुरक्षाकर्मीले देखाएको साहसको उच्च मूल्याङ्कन गर्दै दिवङ्गतका शोकसन्तप्त परिवारजनमा समवेदना गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?