टीकापुरमा स्थिति सामान्य बन्दै, छानबिनका लागि केही पक्राउ
टीकापुरमा तीन दिनअघि भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति केही सामान्य देखिएको छ । शान्ति सुरक्षाको स्थिति बिग्रन नदिन सेना र प्रहरीको गस्ती परिचालन गरिएपछि त्यहाँको स्थिति सामान्य बन्दै गएको हो । प्रहरी र सेनाको संयुक्त गस्तीसँगै आज त्यहाँ तोडफोडजस्ता हिंसात्मक क्रियाकलाप हुन नपाई स्थिति मङ्गलबारको तुलनामा सामान्य देखिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालले बताउनुभयो । स्थानीय प्रशासनले घटनालगत्तैबाट टीकापुर नगर क्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ । यस्तै, टीकापुर नगर र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ । दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएका गाउँबस्तीमा सेना र प्रहरीसहितले गस्ती गरेपछि आसपासका गाविस क्षेत्रमा एकखालको सन्नाटा छाएको मात्र नभई स्थानीय अझै आतङ्कित नै छन् । निषेधाज्ञाको उल्लङ्घन गर्दै मङ्गलबार टीकापुर र आसपासका केही गाउँमा एक समूहले मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सभासद् जनकराज चौधरीको घरका साथै स्थानीय केही सर्वसाधारणका घर÷पसलमा तोडफोड गरेपछि अझै पनि हिंसा भड्किन सक्ने भन्दै स्थानीय आतङ्कित बनेका हुन् ।
छानबिनका लागि पक्राउ
प्रहरीले टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको भन्दै छानबिनका लागि थारुहटका केही स्थानीय कार्यकर्तालाई पक्राउ गरेको छ । संयुक्त गस्ती टोलीले जोशीपुरका सुन्दरलाल चौधरी, झपटनारायण कुस्मी, खडक चौधरी, प्रेम चौधरी, मुनुवाका रामचन्द्र चौधरी, नारायणपुरका रामजनम चौधरी, मुनुवाका सुन्दर कठरिया, दीलबहादुर चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया र हरिनारायण चौधरीलगायतलाई छानबिनका लागि पक्राउ गरेको नाम उल्लेख नगर्ने शर्तमा सुरक्षा निकायको उच्च स्रोतले जनाएको छ । सुरक्षा स्रोतले घटनामा संलग्न अएको भन्दै पक्राउ गरिएकाको बारेमा थप विवरण दिन भने मानेनन् ।
पत्रपत्रिकाको प्रकाशन बन्द
घटनापछि टीकापुर क्षेत्रबाट प्रकाशन हुँदै आएका पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । टीकापुरबाट चार÷पाँचवटा पत्रिका प्रकाशन हुँदै आएका थिए । त्यहाँस्थित रेडियो फूलबारी एफएममा मङ्गलबार भएको तोडफोडपछि त्यसको प्रसारणसमेत बन्द भएको छ । एफएममा भएको तोडफोड र स्थानीय केही पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ ।
पक्राउ परेकामध्ये तीन रिहा
जिल्ला प्रहरी कार्यालय कैलालीले टीकापुरको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये तीन जनालाई सोधपुछ पछि आज रिहा गरिएको जनाएको छ । दरख गाविसको नारायणपुरका रामजनम चौधरी, जोशीपुर गाविसका खड्कबहादुर चौधरी र सुन्दरलाल चौधरीलाई सोधपुछ पछि छाडिएको हो । थरुहट आन्दोलनकारीले खुँडा, भाला, बन्चरो, हँसियालगायत घरेलु हतियार प्रहार गर्दै शरीरमा आगोजन्य पदार्थ फ्याँकेर ड््युटीमा खटिएको अवस्थामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका सुरक्षाकर्मीको हत्या गरेको जिल्ला प्रहरीले आज जनाएको छ । घटनामा संलग्न भएको भन्दै पक्राउ परेका मुनुवा गाविसका रामकुमार कठरिया, सुन्दरलाल कठरिया, दीलबहादुर चौधरी, राजकुमार कठरिया, हरिनारायण चौधरी, भजनी–त्रिशक्ति नगरपालिकाका प्रेमबहादुर चौधरी र जोशीपुर गाविस घर भएका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का क्षेत्रीय अध्यक्ष रामप्रसाद चौधरीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
पक्राउ गरिएकाको रिहा गर्न माग
थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति कैलाली र राना थारु संयुक्त सङ्घर्ष समितिले टीकापुर घटनापछि गाउँगाउँबाट आफ्ना कार्यकर्तालाई धरपकड गरी सरकारी दमन बढेको भन्दै पक्राउ गरिएकाको रिहा गर्न माग गरेको छ ।संयुक्त रुपमा विज्ञप्ति प्रकाशन गरी उनीहरुले टीकापुरमा भएको घटना राजनीति नभएपनि आपराधिक बनाइएकाप्रति विरोध गर्दै त्यसको निष्पक्ष छानबिनको माग गरिएको छ ।