नेपालीलाई अष्ट्रेलियामा टीपीएस जस्तो सुविधा दिने योजना छैन : अध्यागमन मन्त्री डट्टन
अष्ट्रेलियाका अध्यागमन तथा सीमा सुरक्षामन्त्री पिटर डट्टनले नेपालमा महाविनाशकारी भूकम्प गएपछि नेपालीलाई अमेरिकामा दिइएको जस्तो टीपीएस सुविधा दिन नसकिने स्पष्ट गरेका छन् । बुधबार सिड्नीको कोग्रामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मन्त्री डट्टनले यस्तो जानकारी दिएका हुन् । लिबरल फ्रेण्डस अफ नेपालको संयोजनमा नेपाली समूदायका प्रतिनिधिहरुसँगको खुला अन्तरक्रिया कार्यक्रममा उपस्थित लिबरल फ्रेण्डस अफ नेपालका न्यू साउथवेल्स इनर वेष्ट संयोजक निरज श्रेष्ठको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री ड्टटनले भने, तर हामी मानवीय संकटमा रहेको कुनै व्यक्तिलाई साह्रै समस्या परेको छ भने त्यसमा भने हेर्न सक्छौं । यस्तो व्यक्तिहरुका लागि अहिले नै रहेका प्रावधानहरुका आधारमा पनि मानवीय सहयोग गर्न सकिन्छ । (हेर्नुहोस् भिडियो)
कार्यक्रममा अनर अफ अष्ट्रेलियाबाट सम्मानित नेपाली समूदायकी अगुवा ईन्द्रा वनले अन्य समूदायका व्यक्तिहरुले आफन्तलाई अष्ट्रेलिया बोलाउँदा सहज रुपमा भिसा उपलब्ध गराउने तर नेपालीले आफन्त बोलाउँदा विभिन्न हैरानी व्यहोर्नु किन परेको होला ? भनेर प्रश्न गरकेकी थिइन् । यसमा जवाफ दिँदै मन्त्री डट्टनले कुनै समूदायलाई हेरेर भिसा दिने अधिकारीले निर्णय गर्ने नभई व्यक्ति व्यक्तिबीच उसका समग्र पृष्ठभूमि, आर्थिक अवस्था लगायतको छानविनबाट निर्णय गर्ने जवाफ दिएका थिए । कार्यक्रममा उपस्थित लिबरल फ्रेण्डस अफ नेपाल न्यू साउथवेल्स, साउथ सिड्नी संयोजक विवेक थापाले अष्ट्रेलियामा रहेका नेपालीहरुको एकिन संख्या आधिकारिक रुपमा उपलब्ध गराउन पनि मन्त्रीलाई आग्रह गरेका थिए भने पहिलो पटक अष्ट्रेलियाको भूमिमा टेक्ने नेपालीका विषयमा पनि सरकारी तवरमै स्पष्ट पार्न आग्रह गरेका थिए । यसको जवाफमा मन्त्रीले तथ्य संकलन गरी जानकारी गराउने प्रतिबद्धता जनाउनुभएको थियो । एमपी निक भार्भारिसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मी विनोद पौडेलले अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरुले आपूmसँगै परिवार ल्याउँदा तत्कालको फाइदा हेरेर छुट्टा छुट्टै बिमा गर्ने गरेको तर जब बिमाको दाबी गर्दा भने समस्यामा पर्ने भएका कारण यसका लागि सुरुमै कपल भिसाको प्रावधान लागू गर्न सुझाव दिएका थिए । अन्तरक्रियामै सहभागी नेपाली समूदायका प्रतिनिधि चुरामणि बेल्बासेले पनि नेपालबाट अभिभावकहरु यहाँ आउने बेलामा उनीहरुको बिमा अनिवार्य गर्नुपर्ने बताउनुभयो । यस्तो नगरेको अवस्थामा अचानक बिरामी हुँदा पूरै परिवार नै समस्यामा पर्ने गरेको पनि उहाँले बताउनुभयो । कार्यक्रमपछि एमएनटीभीसँग कुरा गर्दै लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष श्री नापितले यस किसिमको अन्तरक्रियाले सरकारी तवरमा समेत नेपाली समूदायका विषयमा जानकारी पुग्ने र नीति निर्माण तहमा समेत आफ्ना कुराहरु राख्न मद्दत मिल्ने प्रतिक्रिया दिनुभयो ।