गुजरात हिंसात्मक आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो


भारतीय राज्य गुजरातमा जारी रहेको हिंसात्मक आन्दोलनमा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार बिहीबारसम्ममा सो राज्यमा जारी रहेको आन्दोलनका क्रममा ती व्यक्ति मारिएका हुन् । गुजरातमा त्यहाँको एक स्थानीय पटेल समुदायले आफ्ना समुदायलाई आरक्षणको माग गर्दै केही दिनयतादेखि आन्दोलन गरिरहेका छन् । उनीहरूले बिहीबार पनि सो आन्दोलनलाई जारी नै राखेको बताइएको छ । जारी आन्दोलन हिंसात्मक भएपछि नौ जनाको ज्यान गएको पुष्टि भएको छ । मङ्गलबार पटेल समुदायको यस आन्दोलनको नेतृत्व गरेका एकजना २२ वर्षीय हार्दिक पटेललाई पक्राउ गरेपछि आन्दोलनले हिंसात्मक रूप लिएको हो । यस समुदायका नागरिकले गएको मङ्गलबार गुजरात राज्यमा नै बन्दको आयोजना गरेका थिए । सो बन्दका क्रममा कम्तीमा पनि १०० वटा बसमा आगजनी गरिएको थियो । त्यसैगरी उक्त बन्दका क्रममा हिंसा गरेको भन्दै हार्दिकसहित अरु पनि कयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । त्यसपछि सो राज्यमा आन्दोलन भड्किएको बताइएको हो । आन्दोलनमा सहभागीमध्ये छ जनाको प्रहरी कारबाहीमा ज्यान गएको छ भने अरु तीन जना दङ्गाका क्रममा मारिएका छन् । तर आन्दोलनकारीले भने सबै जनाको नै प्रहरीको कारबाहीमा परी ज्यान गएको दाबी गरेका छन् । प्रदर्शनकारीहरूले अहमदाबादमा धर्ना दिइरहेका छन् । हजारौँ प्रदर्शनकारीले झण्डासहित नारा जुुलुस गरिरहेका छन् । patelउनीहरूले त्यहाँका कतिपय सरकारी कार्यालयमा पनि आक्रमण गरेका छन् । सरकारले बुधबार नै आन्दोलनकारीहरूलाई दबाउन हजारभन्दा बढीको सङ्ख्यामा अर्धसैनिक बल त्यसतर्फ पठाएको छ । बिहीबार पनि विगतका दिनहरूका तुलनामा आन्दोलनमा हिंसा मच्चिएको बताइएको छ । गुजरात राज्यमा गएको मङ्गलबारदेखि नै विद्यालय र कलेजहरू बन्द गरिएका छन् भने बुधबारबाट मोबाइल फोनको सेवा पनि बन्द गरिएको छ । उनीहरूले पटेल जातिलाई पनि राज्यको सेवा सुविधाका लागि आरक्षणको सूचीमा नराखेसम्म आन्दोलन नरोक्ने जनाएका छन् । आन्दोलनका क्रममा करिब डेढ सय जना घाइते भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?