असन्तुष्ट पक्षसँग तीन दिनभित्रै सार्थक संवाद गर्ने प्रमुख चार दलको निर्णय
प्रमुख चार राजनीतिक दलले मुलुकका विभिन्न स्थानमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरिरहेका पक्षसँग सार्थक संवाद गर्ने भएका छन् ।संविधानसभा भवन नयाँ बानेश्वरमा साँझ बसेको बैठकमा संविधानसभाभित्र र बाहिर रहेका दलसँग संवाद गरी उनीहरूलाई पनि विश्वासमा लिएर संविधान जारी गर्ने वातावरण तयार पार्ने विषयमा छलफल भएको थियो । वार्ताका लागि प्रधानमन्त्री सुशील कोइरालाले आजै असन्तुष्ट पक्षलाई वार्ताका लागि पत्र पठाउनुभएको सन्दर्भमा आगामी तीन दिनभित्र संविधानको परिमार्जित मस्यौदाप्रति असन्तुष्टि जनाएका दल र समूहसँग वार्ता गरिने बैठकपछि नेताहरूले प्रतिक्रिया दिनुभएको छ । थारु, मधेसी, आदिवासी, जनजाति तथा दलित समुदायले विभिन्न माग राखी आन्दोलन गरिरहेको र उनीहरूलाई विश्वासमा लिएर संविधान जारी गर्नुपर्ने सन्दर्भमा सबै पक्षलाई विश्वासमा लिने र वार्तालाई सघन बनाउने विषयमा कुराकानी भएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । विवाद सुल्झाउन बाँकी रहेका विषयलाई समेत मिलाइने र असन्तुष्ट पक्षलाई समेत विश्वासमा लिइने विषयमा आज एकसरो कुराकानी भए पनि अन्तिम निष्कर्ष ननिस्केको उहाँको कथन थियो । ‘नेपालको संविधान, २०७२’ को परिमार्जित मस्यौदामाथि संविधानसभामा छलफल भइरहेको र छलफल अझै केही दिन लम्बिने भएकाले सो अवधिको सदुपयोग गर्दै अगाडि बढ्नेमा शीर्ष नेताबीच मतैक्य छ । दलबीच धर्म, मतप्रतिशत सीमा, नागरिकता, संवैधानिक अङ्गका पदाधिकारीको पुनःनियुक्ति गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । ती विषयमा सहमति नहुँदा दलहरूले परिमार्जित मस्यौदामा समेत विवाद टुङ्गिन बाँकी उल्लेख गरेर प्रतिवेदन पेस गरेका थिए । “सबै पक्षले संविधानमा अपनत्व महसुस गर्ने गरी वार्ता प्रक्रियालाई अगाडि बढाउने र विवादित विषयमा सहमति खोज्ने उद्देश्यका साथ छलफल भएको छ, निरन्तर छलफल गर्ने र अन्तिम निष्कर्ष निकालिन्छ”, बैठकपछि नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो । उहाँले विवादित विषयमा सहमति खोज्नका लागि गम्भीर ढङ्गले लागिने र संविधानसभाको छलफललाई पनि निरन्तर अगाडि बढाइने बताउनुभयो । प्रधानमन्त्रीले आजै मधेसकेन्द्रित दल, थारु समुदाय, नेकपा–माओवादीलगायत दललाई वार्ताका लागि औपचारिक पत्र पठाउनुभएको छ । “तीन दिनभित्र असन्तुष्ट पक्षसँग सघन ढङ्गले वार्ता गर्ने र अधिकतम सहमति निर्माण गर्ने विषयमा शीर्ष नेतृत्वबीच छलफल भयो ।’ वैठकमा सहभागी एमाले नेता माधवकुमार नेपालले भन्नुभयो । जुनसुकै समुदायले उठाएको भए पनि जायज मागलाई सम्बोधन गर्नुपर्छ भन्नेमा शीर्ष नेतृत्वमा छलफल भएको जानकारी दिँदै नेता नेपालले संविधान निर्माणको प्रक्रिया भने निरन्तर अगाडि बढ्ने बताउनुभयो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखन प्रक्रिया, असन्तुष्ट पक्षसँग भइरहेको अनौपचारिक संवाद र अपनाइने भावी रणनीतिका विषयमा कुराकानी भएको थियो । बैठकमा प्रधानमन्त्री कोइराला, काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति पौडेल, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता खनाल, नेता नेपाल र उपाध्यक्ष विद्यादेवी भण्डारी, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको सहभागिता थियो ।