सेना परिचालन फिर्ता लिन माओवादीको माग, मधेशवादीको आफ्नै सर्त


vaidhyaनेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले संविधान लेखन प्रक्रियामा भइरहेको गत्यावरोध अन्त्य गर्न सर्वपक्षीय राजनीतिक सम्मेलनको आयोजना गर्न आग्रह गरेको छ । मोर्चाको बैठकले प्रमुख राजनीतिक दलले सीमा निर्धारणसहित सङ्घीय प्रदेशसहितको संविधानको परिमार्जित मस्यौदा सार्वजनिक गरेपछि मुलुकका विभिन्न स्थानमा उत्पन्न भएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकार र प्रमुख दललाई आग्रह गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीका सचिव देवप्रसाद गुरुङले जनताको असन्तुष्टिलाई राजनीतिक तवरबाट सम्बोधन गर्नुपर्नेमा सेना परिचालन गर्ने निर्णय गरिनु गलत भएको ठहर गरिएको जानकारी दिनुभयो । मोर्चाले मुलुकका विभिन्न स्थानमा गरिएको सेना परिचालन तत्काल फिर्ता गर्न अनुरोध गरेको छ । बैठकपछि मोर्चाका तर्फबाट माओवादीका अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा सेना परिचालन गरिनु र मुलुकभर निषेधाज्ञा जारी गरिनु गलत भएको भन्दै सो निर्णय फिर्ता लिन आग्रह गरिएको छ ।
विगतका सम्झौता लागू गर
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले विगतका गरिएका सम्झौता कार्यान्वयन गर्न मानेमा वार्ताका लागि आफूहरू तयार रहेको बताउनुभएको छ । सदरमुकाम गौरमा यही भदौ ८ गते प्रहरीको गोली लागी मृत्यु भएका राजकिशोर ठाकुरप्रति श्रद्धाञ्जलि दिन यहाँ आइपुग्नुभएका नेता ठाकुरले सरकारले वार्ताका लागि पठाएको पत्र प्राप्त भएको बताउंँदै त्यसको लिखित जवाफ आजै साँझसम्म सरकारलाई पठाइने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?