साम्प्रदायिक सद्भाव भाँड्ने तत्वविरुद्ध एक हुन नेताहरुको आग्रह


bidhyaमुलुक संविधान बनाउने प्रक्रिया अघि बढिरहेका बेला टीकापुरलयायत तराई–मधेसका विभिन्न ठाउँमा साम्प्रदायिक सद्भाव भाँड्ने शक्ति सक्रिय रहेको जनाउँदै विभिन्न नेता तथा कार्यकर्ताले चिन्ता व्यक्त गर्नुभएको छ । अनेरास्ववियुअन्तर्गतका थारु र मधेसी विद्यार्थी राष्ट्रिय समितिले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताले संविधानसभाबाटै लोकतान्त्रिक संबिधान बनाउन पहल गर्नुपर्नेमा केही व्यक्ति तथा समूह  हिंसा भड्काएर संविधान नबन्ने खेलमा लागेको आरोप लगाउनुभयो । हाम्रो जस्तो बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुकमा सदियौंदेखि रहेको सामाजिक सद्भाव कायम राख्नुपर्ने बताउँदै उहाँहरुले जनतामा रहेका असन्तुष्टिलाई वार्ताबाटै समाधान गरिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले जनविर्वाचित  संविधानसभालाई पुनः पङ्गु बनाउने कोसिस भइरहेको बताउँदै जननिर्वाचित संस्थाभन्दा उत्तम अरु कुनै लोकतान्त्रिक पद्धति नहुने भएकाले यहीँबाट समाधान खोजिनुपर्ने बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “कोही सबै जातजाति, भाषाभाषी मिलेर बसेको देशलाई भाँड्न खोज्ने, कोही चुनाव बहिष्कार गर्ने, अनि कसरी संविधान बन्छ ?” उपाध्यक्ष भण्डारीले सीमाङ्कनको विषय समाएर अस्थिरता मच्चाउने खेल नखेल्न आग्रह गर्दै भन्नुभयो, “आयोगबाट सीमाङ्कन टुङ्ग्याउने विकल्प अझै खुला छ ।” सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्धजातिवाद, अन्धक्षेत्रीयतावाद जस्ता रोग समाप्त नगरेसम्म लोकतान्त्रिक संविधान बन्न गाह्रो हुने बताउनुभयो । धेरै सङ्ख्यामा प्रदेश बनाएर सङ्घीयतामा गएका देश विकसित हुन नसकेको बताउँदै उहाँले भन्नुभयो, “जातीय हिसाबले सङ्घीयतामा गएका मुलुक आन्तरिक द्वन्द्वमा फसेका छन्, अहिलेका सात प्रदेशलाई नै स्विकारेर शक्ति सन्तुलनको दस्तावेजका रुपमा संविधान आउनुपर्छ ।” नेपाली काँग्रेसका केन्द्रीय सदस्य पद्मनारायण चौधरीले हिंसात्मक आन्दोलनले संविधान निर्माणमा बाधा परेकाले तुरुन्त वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभयो । एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डल, केन्द्रीय सदस्य बलदेव चौधरी, मञ्जु चौधरी, वैजनाथ चौधरी, श्रीप्रसाद साहलगायतले संविधान बनेपछि मधेसी र थारुका माग सम्बोधन हुने बताउँदै गलत तत्वको उक्साहटमा लागेर आन्दोलित नहुन तराई मधेसका जनतालाई आग्रह गर्नुभयो । अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल, अनेरास्ववियु थारु विद्यार्थी राष्ट्रिय समितिका अध्यक्ष रामशरण चौधरी र मधेसी विद्यार्थी राष्ट्रिय समितिका अध्यक्ष अशेष गोइतले मुलुकको कठिन परिस्थितिमा सामाजिक सद्भाव कायम गर्न सबै लाग्नुपर्ने भएकाले ‘सद्भाव ¥याली’ लिएर चाँडै टीकापुर प्रस्थान गरिने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?