भदौ महिनाभित्रै देशले संविधान पाउने एमाओवादी प्रवक्ताको दाबी
एनेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले भदौ महिनाभित्रै नयाँ संविधान जारी हुने बताउनुभएको छ । भक्तपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले संविधान जारी गर्न नदिने षड्यन्त्र भए पनि भदौ महिनाभित्र संविधान जारी गर्न कसैले रोक्न नसक्ने बताउनुभएको छ । संविधानसभाबाटै संविधान जारी हुनुपर्ने बताउँदै उहाँले त्यसका लागि एमाओवादी लचक भएको पनि बताउनुभयो । छलफल र सहमतिका लागि एमाओवादीले मधेसवादी दलका नेताहरूसँग औपचारिक तथा अनौपचारिक छलफल चलाएको बताउँदै प्रवक्ता शर्माले भन्नुभयो – “सहमतिका लागि मधेसवादी दलका नेताहरूसँग एमाओवादीका नेताहरूले बृहत् छलफल चलाएका छन् – भोलिसम्ममा निष्कर्षमा पुग्छ ।” संविधान जारी गर्न नदिन विभिन्न क्षेत्रबाट षड्यन्त्र भइरहेको बताउँदै उहाँले थारुहरूको जायज मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्र्ने बताउनुभयो । तराईमा चर्किएको आन्दोलनमा एमाओवादीको घुसपैठ नभएको दाबी गर्दै उहाँले भारतबाट घुसपैठ भएको हो भने सरकारले नाकामा कडाइ गर्नुपर्ने उहाँको भनाइ थियो । सरकारमा बस्ने व्यक्तिहरूले हचुवाका भरमा आन्दोलनमा भारतको घुसपैठ छ भन्नु नै गलत भएको जिकिर गर्दै प्रवक्ता शर्माले भन्नुभयो – “भारतको घुसपैठ रोक्न सरकारले सिमानामा निगरानी बढाउनुपर्छ, भारतसँग घुसपैठ रोक्न आग्रह गर्नुपर्छ, सरकारमा बस्नेले अनधिकृत रुपमा बोल्नुहुन्न ।” तराईमा स्वार्थका लागि केही तत्वहरू सक्रिय रहेको चर्चा गर्दै उहाँले त्यस्ता समूहसँग सरकार सतर्क रहनुपर्ने औँल्याउनुभयो ।