चन्दलाई अध्यक्ष बनाउने खेलको भित्री कथा


lokendraराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यतिबेला रहस्यको खेलाभित्रको पार्टी बनेको छ । सूर्यबहादुर थापाले अध्यक्ष बनाएका पशुपति शमशेर राणालाई उनकै छोरा र थापा समर्थक नेताहरुले नै अपदस्थ गर्नका निम्ति स्वीकृति दिएपछि यसको भित्री कथा के हो ? जान्ने जिज्ञासा धेरैलाई भएको छ । मुख्यतः राप्रपाभित्र अध्यक्ष पशुपतिशमशेर राणाले पछिल्लो समयमा देखाएको उदासिनता र निस्क्रियता नै यसको पहिलो कारण बनेको चर्चा चल्न थालेको छ । राप्रपाभित्र यस घटनालाई अब नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुन लागेको हो भन्ने अर्थमा पनि धेरैले बुझ्न थालेका छन् । राप्रपाका एक र दुई नम्बरका केन्द्रीय सदस्यहरु अर्थात् चुनावमा सबैभन्दा बढी मत ल्याउने सुनिल थापा र जयन्त चन्दबीचको सहकार्यबाट यस्तो परिणाम आएको मान्नेहरु धेरै छन् । अधिवेशनमा सबैभन्दा बढी मत थापाले ल्याएका थिए भने चन्दले दोश्रो अत्यधिक मत ल्याउने सफलता पाएका थिए जसले उनीहरुको पिताजीको बहुमतलाई स्पष्ट देखाइदिएको थियो । यो अपदस्थ गर्ने प्रकरणको अर्को पाटो खुल्न बाँकी नै छ, किनकि पशुपतिशमशेरले अहिलेसम्म प्रतिक्रिया दिइसकेका छैनन् । आइतबार बहुमत केन्द्रीय सदस्यले पार्टी अध्यक्ष पशुपतिशमशेर राणालाई हटाई लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाएको घोषणा गरेका थिए । राप्रपाका १०३ केन्द्रीय सदस्यमध्ये ६१ जना बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आज निर्वाचन आयोगमा चन्दलाई अध्यक्ष बनाइएको जानकारी सो पक्षले दिएको छ । पत्रकार सम्मेलन गर्दै चन्दले अब पार्टीको अध्यक्ष आफू भएको घोषणा गर्दै राणा अध्यक्षबाट हटेको जिकिर गर्नुभयो । चन्दले भन्नुभयो – “एक वर्षदेखि पार्टी केन्द्रीय समितिको बैठक बोलाइएको थिएन, पजनी शैलीमा सदस्य बढुवा–घटुवा गर्ने कार्य भइरहेको थियो । पार्टीको बृहत्तर एकताका लागि हामीले यो कदम चालेका हौँ ।” उहाँले यो फुट नभई एकता भएको जनाउँदै पार्टी थप सशक्त भएर अघि बढ्ने बताउनुभयो । उहाँले यस अघिको एकता महाधिवेशनपछि पार्टीले राष्ट्रिय उचाइ लिने विश्वास विपरीत वैचारिक दृष्टिकोण र प्रक्रिया उपेक्षा गरेर निवर्तमान अध्यक्ष राणाले पार्टीलाई धराशायी बनाएको आरोप लगाउनुभयो । उहाँले केन्द्रीय समिति, भ्रातृ सङ्गठन कुनै निकायको बैठक नगरी विधानको उल्लङ्घन गर्दै जिल्ला सभापति नियुक्ति र बर्खास्ती गर्ने कार्य नेतृत्वले गरी पार्टीलाई ध्वस्त बनाएकोे टिप्पणी गर्नुभयो । नयाँ बन्ने संविधानमा राष्ट्रिय एकतासहितको सङ्घीयता, विभिन्न भाषा र संस्कृतिको सशक्तीकरण, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन सर्वधर्म सापेक्ष राष्ट्रका रूपमा पहिचान दिनुपर्ने पार्टीको माग रहेको उहाँले जानकारी दिनुभयो । पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले बृहत्तर हित र एकता हुने गरी आजको निर्णय भएको बताउनुभयो । विसं. २०४६ पछि सो पार्टी विभिन्न चरणमा फुट र एकताबाट गुज्रिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?