एमाओवादीले काँग्रेसलाई भन्यो, सडकमा उठेका मागहरुलाई पनि समेटौं


prachanda and koiralaपछिल्लो राजनीतिक अवस्थाका बारेमा नेपाली काँग्रेस र एनेकपा (माओवादी)का शीर्ष नेताहरूका बीचमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा काँग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा तथा संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौला र वनमन्त्री महेश आचार्यलगायतको सहभागिता रहेको थियो । यसैगरी एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, संवैधानिक राजीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठको सहभागिता रहेको थियो । बैठकपछि उपसभापति पौडेलले पछिल्लो राजनीतिक अवस्थाका बारेमा दुई दलका बीचमा छलफल भएको जानकारी दिनुभयो । भोलिदेखि सुरु हुने संविधानसभाको बैठक, संविधानको मस्यौदामाथि दलहरूले पेस गरेका संशोधन प्रस्ताव, तराई मधेस केन्द्रित दलको आन्दोलनलगायतका विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै वनमन्त्री आचार्यले दलहरूका बीचमा सहमति, सहकार्य र एकताबाट नै संविधान जारी गर्ने पक्षमा काँग्रेस रहेको बताउनुभयो । आन्दोलनमा रहेका तराई मधेस केन्द्रित दलहरूका मागका बारेमा बैठकमा छलफल भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?