संविधान लेखन प्रक्रियामा सहभागी हुन असन्तुष्ट पक्षलाई सिटौलाको आग्रह
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्छु भन्ने पक्षहरुले संविधान निर्माण प्रक्रियामा सहभागी हुनैपर्ने बताउनुभएको छ । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ सहभागी सभासद्हरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले संविधान निर्माण प्रक्रियालाई सफल तुल्याएर जनतालाई अधिकार सम्पन्न बनाउनु आजको प्रमुख दायित्व हो भन्नुभयो । जनताले दिएको मतलाई अपमान गर्ने अधिकार कुनै पनि दल र नेतालाई नभएको बताउँदै सभापति सिटौलाले मैले भनेको मात्रै लोकतन्त्र हो, अरुले भनेको चाहिँ केही होइन त्यसैले हामी मान्दैनाँै भन्ने प्रवृत्ति प्रजातान्त्रिक संस्कार नभएको उल्लेख गर्नुभयो । निर्वाचित भएर आएपछि जनताको मतको कदर गर्नुपर्छ भन्दै उहाँले स्थिति अझै नबिग्रिसकेकाले आन्दोलनरत पक्षलाई संविधानसभामा सहभागी भएर आफ्नो मत राख्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो – सङ्घीय संरचनाको विकास क्रमशः हुँदै जाने विषय हो । त्यसलाई लिएर भएको आन्दोलनलाई हिंसात्मक बनाइएको छ । राष्ट्रसेवक प्रहरीलाई जिउँदै आगो लगाउने तथा भाला रोपेर मार्ने काम कुनै पनि हालतमा राजनीतिक आन्दोलन हुनै सक्दैन । संविधान लेखन र राष्ट्रपतिसँग जोडेर सञ्चारमाध्यममा आएका विषयवस्तुप्रति लक्ष्यित गर्दै उहाँले भन्नुभयो – “संविधानभन्दा माथि कोही छैन, प्रेसमा आएजस्तो कुरा राष्ट्रपतिबाट भयो भन्ने म विश्वास गर्दिनँ ।” सभापति सिटौलाले संविधान जारी भइसकेपछि पनि प्रमुख राजनीतिक दलबाट सबैलाई मिलाएर जाने निरन्तर कोसिस हुने विश्वास दिलाउँदै संविधान जारी गर्ने र लोकतन्त्रलाई संस्थागत गर्ने काममा सञ्चार क्षेत्रबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो – “सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनताबाहेक संविधानमा अपरिवर्तनीय धारा नभएको हुँदा यो संविधान गतिशील दस्तावेजका रुपमा रहने छ । भोलि आइपर्ने समस्या संशोधन प्रक्रियाबाट सम्बोधन गर्न सकिन्छ । सिङ्गो राष्ट्र र दलहरुबीचको सहमतिको दस्तावेज भएकाले यसमा सबैको सहयोग अपरिहार्य छ ।”