बहुमुल्य ‘सि’माला डकैतीगरी फरार तीन भारतीय र दुई भुटानी पक्राउ


cmalaहोटलमा रहेका एक व्यक्तिको हातखुट्टा बाँधी जवरजस्ती १५ थान बहुमुल्य ‘सि’माला लुटपाट गरी फरार रहेका तीन भारतीय र दुई भुटानीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत बुधबार बौद्ध स्तुपा नजिक बौद्ध छोर्तेन होटलको कोठामा बसिरहेका ‘सि’माला भनिने बहुमुल्य माला बेचबिखन गर्ने उपेन्द्र लामिछानेलाई हातखुट्टा बाँधी जवरजस्ती १५ थान माला लुटपाटमा संलग्न पाँच जनालाई महानगरीय अपराध महाशाखाको टोलीले सोही साँझ पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा हाल काठमाडौँ बौद्ध बस्दै आएका भुटानका डि दोर्जे र छिरिङ लामा, भारत घर भएका असित सैबो, नहिर अली र सरोज गुरुङ रहेको महाशाखाले जनाएको छ । महाशाखाको टोलीले उनीहरुलाई पछ्याउँदै गएर मकवानपुरको भिमफेदीबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको जनाएको छ । उनीहरुको साथबाट सि माला २४ थान र १०० को ५६७ थान नक्कली अमेरिकन डलरसमेत बरामद गरेको छ । अनुसन्धानका क्रममा भुटानको थिम्पुमा बस्ने अतिसा बटियाले सिमाला खरिद गर्नका लागि डि दोर्जे लामालाई नक्कली अमेरिकन डलर ५६ हजार दिएर लुटिएका व्यक्ति उपेन्द्र लामिछानेलाई भेट गरी सामान ल्याउन नेपाल पठाएको खुल्न आएको छ । होटलबाट लुटिएको १५ थान सि माला बौद्धस्थित कपडा व्यापार गरी बस्ने नरेश अग्रवालले विभिन्न ठाँउबाट खरिद गरी सञ्चय गरी लामिछानेलाई रु दुई करोडमा बेच्नको लागि जिम्मा दिएकोमा लामिछानेले उक्त सि माला डि दोर्जेलाई १६ करोडमा बिक्री गर्न सहमत भएको अनुसन्धानको क्रममा खुलेको छ । सि मालाको खरिद स्रोतको सम्बन्धमा अनुसन्धान भइरहेको साथै पुरातत्व विभागसँग समेत समन्वय भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न पाँचैजनालाई डाँका तथा अपहरण मुद्दामा कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर पठाएको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?