सिड्नीमा सकियो एमआरपीको अन्तिम सेसन
मंसिरबाट हस्तलिखित राहदानीले काम नगर्ने भएपछि यतिबेला धमाधम अष्ट्रेलियाका विभिन्न राज्यमा एमआरपी सेसनहरु सञ्चालन भइरहेका छन् । यसैक्रममा शनिबार सिड्नीमा समेत शिविर सञ्चालन गरिएको छ । यसअघि दुई पटक आयोजना गरिसकिएको एमआरपी ईन्फर्मेशन सेसन नाम दिइएको कार्यक्रममा शनिबार मात्रै ५ सय भन्दा बढी सेवाग्राहीले एमआरपी फारम बुझाएको एनआरएन अष्ट्रेलिया न्यू साउथवेल्स राज्य समितिका संयोजक दिनेश पोखरेलले जानकारी दिए । सिड्नी सिटीस्थित हाम्रो कलेजमा सञ्चालित कार्यक्रमस्थलमा नै फर्म भर्ने, फोटो खिचाउने लगायतका सबै सुविधा केन्द्रिकृत रुपमा प्रदान गरिएको थियो । पोखरेलले भने “यसअघिको अनुभवबाट सिकेर अझ छिटो र धेरै नेपाली समूदायका सदस्यहरुलाई सेवा दिनका लागि हामी लागिपरेका थियौं ।” यसक्रममा एनआरएन राज्यपरिषद्का स्वयंसेवकहरुका साथै राष्ट्रिय परिषद्का पदाधिकारी पनि एमआरपीको निम्ति निवेदन दिन आउनेहरुको सुविधाको लागि खटिएका देखिन्थे । क्यानबेरास्थित नेपाली दूतावासका डेप्युटी चिफ अफ मिशन राजेन्द्र दाहालसहितको टोलीले करिब ११ बजेदेखि निरन्तर साँझैसम्म निवेदनहरु बुझेका थिए । एमएनटीभीसँग प्रतिक्रिया दिँदै पाण्डेले अन्तिम समय आइसकेका भन्दै एमआरपी नबनाएकाहरुले सिधै दूतावासमा उपस्थित भएर अथवा सही रुपमा भरिएको फर्म हुलाकमार्फत पठाएर समेत सेवा लिन सक्ने जानकारी दिए । “अब ढिलो गर्ने बेला छैन । यदि कसैले बनाउनुभएको छैन भने छिटोभन्दा छिटो पासपोर्टको निम्ति निवेदन दिन हामी आग्रह गर्दछौं” पाण्डेको आग्रह छ । २६ सेप्टेम्बरका दिन मेलबर्नमा यस्तै अर्को शिविर हुने भएको छ ।