मधेशी मोर्चालाई बलियो बनाउने भन्दै जुटे गुप्ता र मातृका यादव
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बृहत् बनाउने अभियान सुरु भएको मोर्चाले जनाएको छ । मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चामा अन्य मधेसी दल तथा सङ्गठनहरूलाई थपेर बृहत् बनाउने अभियान सुरु गरिएको राससलाई जानकारी दिनुभयो । सोही अभियानअन्तर्गत नेकपा (माओवादी)का अध्यक्ष मातृका यादव र तराई–मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्तालाई मोर्चामा समावेस गरिएको उहाँले उल्लेख गर्नुभयो । “यो नयाँ मोर्चा हैन, संयुक्त मधेसी मोर्चालाई बृहत् बनाउने अभियान हो । यसै अनुरूप यादव र गुप्ताजीलाई आग्रह गरेको र उहाँहरूले समर्थन जनाएर आउनु भएको छ,” –उहाँले भन्नुभयो । संयुक्त मधेसी मोर्चाका तर्फबाट सद्भावना अध्यक्ष राजेन्द्र महतो तथा माओवादीका तर्फबाट मातृका यादव र मधेस अभियानका जयप्रकास गुप्ताले संयुक्त हस्ताक्षर गरी आज एक विज्ञप्ति जारी गर्नुभएको छ । मधेसी जनताको चाहनालाई ध्यानमा राखी मधेस आन्दोलनलाई अझ प्रभावकारी, परिणाममुखी र निर्णायक बनाउन मोर्चा विस्तार गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।