सुरक्षा विधेयक पास भएपछि जापानमा आबेको लोकप्रियता घट्यो
जापानी प्रधानमन्त्री सिन्जो आबेको सरकारमाथिको समर्थनमा सुरक्षा विधेयक पास भएपछि ४.३ प्रतिशतले ह्रास आएकोे छ । यसअघि ४३.२ प्रतिशत जापानी जनताको समर्थन रहेको आबे सरकारप्रतिको समर्थनमा ४.३ प्रतिशत गिरावट आएपछि ३८.९ प्रतिशत हुन पुगेको आइतबार सार्वजनिक गरिएको एक सर्वेक्षणले देखाएको हो । त्यस्तै, यसअघि ४६.४ प्रतिशत रहेको जापानी प्रधानमन्त्रीविरुद्धको जनमतमा वृद्धि ५०.२ प्रतिशत हुन पुगेको छ । जापानी भूमिमाथि आक्रमण नभएको अवस्थामा पनि यहाँको सेनालाई विदेशी भूमिमा लड्न पठाउन सकिने प्रधानमन्त्रीको प्रस्ताव शनिबार भएको मतदानमा १४८ मत प्राप्त गर्दै पास भएको थियो । यो विधेयक जापानी संसद (डायट) मा प्रस्तुत गर्ने प्रस्तावसँगै सरकारविरुद्ध सडक सङ्घर्ष तथा संसदमा हात हालाहालको स्थिति निम्त्याएको थियो ।