अब संविधान सभा व्यवस्थापिका–संसद्मा रुपान्तरित
‘नेपालको संविधान, २०७२’ जारी भएसँगै संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरण भएको छ । संविधान घोषणा गर्न बसेको संविधानसभा बैठकको अन्त्यमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा व्यवस्थापिका–संसद्मा परिणत भएको घोषणा गर्नुभयोे । राष्ट्रपति डा रामवरण यादवबाट हस्ताक्षर भई जारी भएको संविधानका पाँच प्रतिमध्ये क्रमशः एक–एक ओटा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय, व्यवस्थापिका–संसद् सचिवालय र राष्ट्रिय अभिलेखालयमा राखिने जानकारी पनि सभाध्यक्ष नेम्वाङले दिनुभयो । त्यसअघि उहाँले २०७० साल माघ ८ गते प्रारम्भ भएको संविधानसभाको बैठक ६०७ दिन सञ्चालन भई १३० दिन पूर्ण बैठक भएका तथा त्यसअवधिमा ३२८ घण्टा ४५ मिनेट खास कार्यमा व्यतित भएको बताउनुभयो । साथै, उहाँले संविधानसभामा भएका अन्य गतिविधिबारे पनि सभालाई अवगत गराउनुभयो ।सभाध्यक्षले संविधान निर्माणमा सक्रिय सहयोग गरेका तर अन्तिम क्षणमा संविधान लेखनको प्रक्रियाबाट बाहिरिएकाहरूलाई सङ्केत गर्दै लोकतान्त्रिक पद्धतिमा समाहित हुन अनुरोध पनि गर्नुभयो । संविधान निर्माणमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्ने नेपाली जनता, सरकार, निर्वाचन आयोग, विभिन्न पेसाकर्मी, नागरिक समाज, सुरक्षा निकाय तथा संसद् सचिवालयका कर्मचारीप्रति उहाँले कृतज्ञता प्रकट गर्नुभयो । राष्ट्रपतिबाट संविधान घोषणाका साथै संविधानसभालाई सम्बोधन भएकोमा राष्ट्राध्यक्षप्रति उहाँले हार्दिक आभार व्यक्त गर्नुभयो । त्यसअघि सभाले धन्यवादको प्रस्तावद्वारा राष्ट्रपतिप्रति कृतज्ञता ज्ञापन गरेको थियो ।