नयाँ संविधानको खुशीमा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले गर्यो दिप प्रज्वलन र अन्तरक्रिया


प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले नेपालमा संविधान जारी भएको खुशीयालीमा चियापानसहित दिप प्रज्वलन र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ग्रानभिलको एक रेष्टुरेन्टस्थित हलमा सोमबार आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का हुनुहुन्थ्यो । यसैगरी अतिथिको रुपमा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक विष्णु हमाल, एनआरएन न्यू साउथवेल्स संयोजक एवं उपाध्यक्ष दिनेश पोखरेल, होम पाण्डे लगायत हुनुहुन्थ्यो । onfकार्यक्रममा बोल्ने वक्ताहरुले देशले निकै लामो समयपछि सहमति पाएकोमा खुशी व्यक्त गर्दै दलहरुले जुन एकता देखाएका छन् त्यसलाई व्यवहारमा उतारेर अब विकास निर्माणको चरणमा देशलाई लैजानुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले अझै पनि संविधानमा चित्त नबुझेका कुराहरु वार्ता र सहमतिको माध्यमबाट सच्याउन सकिने भन्दै असन्तुष्ट पक्षहरुका जयज मागहरुलाई पूरा गर्दै जानुपर्ने बताएका थिए । देशमा युगौंदेखिको जनताले संविधान लेख्ने सपना पूरा भएकोमा प्रवासी नेपालीहरु खुशी र ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सभापतित्व अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन महासचिव केशव जोशीले गर्नुभएको थियो । कार्यक्रमलगत्तै हामीले सोधेका थियौं यो अवसरमा तपाईं के भन्न चाहनुहुन्छ ?
विनोद श्रेष्ठ, अध्यक्ष प्रवासी नेपाली मञ्च अष्ट्रेलिया
यो अवसरमा एकदमै खुशी हुने र सम्पूर्ण नेपालीहरुको धेरै वर्षपछिको चाहना पूरा भएको अवसर हो । यसमा हामी खुशी छौं । यसका लागि नेपालमा रहनुभएका नेपाली समूदायका साथै प्रवासमा रहेका नेपालीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
दिपक खड्का, अवैतनिक महावाणिज्यदूत, न्यू साउथवेल्स
हामी सधैं संविधान चाहिन्छ चाहिन्छ भनिरहेका थियौं अन्तत संविधान अयो । हामीले यसलाई स्वागत गर्नुपर्छ । किनकि संविधान बनेको देशको मेरुदण्ड हो । संविधानविना हामी अगाडि बढ्न सक्दैनौं । यो संविधान सबैलाई समेट्ने खालको छ भन्ने लाग्छ । सबैलाई समेट्छु भनेर शीर्ष नेताहरुले प्रतिबद्धता व्यक्त गरिसक्नुभएकोले आगामी दिनमा यसै अनुसार अघि बढनुहुन्छ भन्नेमा आशावादी छु । यस कार्यमा लाग्नुभएका सबै नेतागण, नेपाली जनता सबैलाई म बधाई दिन चाहन्छु ।
विष्णु हमाल, एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक
मलाई अत्यन्त खुशी लागेको छ । वास्तवमा ढिलै भएपनि देशले संविधान पाएको छ यो सकारात्मक पक्ष हो । यसका लागि थुप्रै सहिदहरुले आहुति दिनुपरेको छ । देश अझैपनि कतिपय साथीहरु बेखुशी हुनुहुन्छ र मलाई लाग्छ । उहाँहरुलाई पनि समेटिनेछ । अब देशले नयाँ गति लिनेछ र राजनीतिक स्थिरता पनि हुनेछ । देश सुख र सम्बृद्धिको पाइलातिर लम्किनेछ भन्ने मलाई लागेको छ ।
दिनेश पोखरेल, उपाध्यक्ष एनआरएन अष्ट्रेलिया
मलाई अति नै खुशी लागेको छ । देशले अब के होला, कसो होला संविधान कहिले आउला भनिरहेको बेलामा संविधानसभा मार्फत संविधान आएको छ । यसले देशलाई निकास दिनेछ भन्नेमा हामी आशावादी छौं । वास्तवमै अब हामी देशको निर्माणका लागि काँधमा काँध मिलाएर हातमा हात मिलाएर अगाडि बढ्न तयार छौं र यो खुशीको अवसरमा सबैलाई शुभकामना दिन चाहन्छु ।

होम पाण्डे, अध्यक्ष, मानव अधिकार तथा लोकतान्त्रिक नेपाली मञ्च अष्ट्रेलिया
नेपालको संविधान आउनु सबै नेपालको लागि खुशीको कुरा हो । मलाई लाग्छ नेपालमा केही दाजुभाईहरुले असन्तुष्टी देखाउनुभएको छ । त्यो कुरा पनि सम्बोधन हुनेछ भन्ने मैले आशा राखेको छु । संविधान बनाउने भन्ने कुरा तीन करोड नेपालीलाई चित्त बुझ्ने भन्ने कुरा सानो कुरा थिएन । मैले भनेको हुनुपर्छ भन्दा पनि धेरैले भनेको कुरा मान्नुपर्छ भन्ने चिन्तन राख्नुपर्छ । राष्ट्रिय हितको सवालमा आफ्नो निहित स्वार्थ कसैले पनि हेर्नु हुँदैन । नेपालमा संविधान आउँदैन कि भन्ने आशंका थियो तर, नेताहरुले एकताबद्ध भएर विश्वलाई नै नयाँ सन्देश दिएका छन् ।
ध्रुव सुवेदी, पूर्वअध्यक्ष प्रवासी नेपाली मञ्च अष्ट्रेलिया
लामो समयपछि, हजारौं मानिसहरु संलग्न भएर बनेको संविधान । हाम्रो देशको ईतिहासमै संविधानसभाबाट बनेको यो पहिलो संविधान हो । हामी खुशी छौं र यसका निम्ति प्रयास गर्ने राजनीतिक दलसहित नेपाली जनता सबै धन्यवादको पात्र हुनुहुन्छ । हामी बाहिर बसेका नेपाली समूदाय पनि खुशी छौं । अब राजनीतिक एजेन्डा सकिएको छ, आर्थिक एजेन्डामा अघि बढुन् भन्ने हाम्रो अनुरोध छ ।
महेन्द्र ओली, पूर्वअध्यक्ष एनआरएन अष्ट्रेलिया
देश अन्योलको स्थितिमा रहेको बेलामा सबै नेताहरु एकजुट भएर देशको निम्ति संविधान सहकार्यमा दिन सक्नुभयो । संविधान दिएपछिको यो अवस्थामा अझै यस सहकार्यलाई निरन्तरता दिएर अब देशलाई विकासको पथमा लैजानसक्ने आशा जगाउनुभएको छ । हामी गैरआवासीय नेपालीका मागलाई पनि सम्बोधन गरेर उहाँहरुले हामीलाई देशका निम्ति अझै बढी केही गर्न प्रेरित गरेको छ । यसले नेपालभित्रका नेपाली र बाहिर रहेका हामीबीच अझै आशा जगाएको जस्तो मलाई लाग्छ ।
रमेश पाण्डे, नेकपा एमाले केन्द्रीय महाधिवेशन प्रतिनिधि
यो जुन प्रवासी नेपाली मञ्चले नेपालमा आएको संविधानलाई स्वागत गर्ने र सफल कार्यान्वयनको लागि खबरदारी पनि गर्नेगरी कार्यक्रम गरेको छ यो सराहनीय छ । यो कार्यक्रम भइरहँदा देशमा पनि ठूलो जनताको सहभागितामा संविधानलाई स्वागत गरिहेको खबर आइरहेको छ यो सकारात्मक हो । यो जुन ९० प्रतिशतभन्दा बढी जनमतको साथमा पारित गराइएको छ यसमा असहमत रहेका १० प्रतिशत बाहिर रहेको भन्ने जुन समाचार आएको छ यसमा हामी प्रवासी के भन्न चाहन्छौं भने ति बाहिर गएकाहरुको मागलाई पनि सम्बोधन गर्दै यसलाई सफल कार्यान्वयनको दिगो बाटोमा जाओस् । यसको एकोहोरो रुपमा स्वागत मात्र गर्नेभन्दा पनि यसलाई सहमति र संशोधनको माध्यमबाट अगाडि जान सकिन्छ भन्ने हाम्रो मान्यता छ । यसले पछाडि परेको नेपाललाई अगाडि बढाउन देशसँग, नेपाली दाजुभाईसँग काँधमा काँध मिलाएर सहयोगी पात्रका रुपमा काम गर्न हामी तयार छौं ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?