जनताले लेखेको संविधानका विषयमा कसैले आपत्ति जनाउन नपर्ने प्रचण्डको भनाई
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान नेपाली जनता र नेपालका राजनीतिक दलले लेखेकाले कोही कसैले आपत्ति जनाउनु नपर्ने बताउनुभएको छ । एमाओवादी नेता गोपाल किराँतीद्वारा लिखित ‘प्रचण्डपथको विजय’ पुस्तकको विमोचन गर्दै उहाँले नेपालको संविधान, २०७२’ कोही कसैको विरुद्धमा नभएको स्पष्ट गर्नुभयो । एक्काइसाँै शताब्दीमा कुनै पनि मुलुकले कुनै अर्को मुलुकविरुद्ध कुनै पनि प्रकारको कदम चाल्न नसक्ने भएकाले अनावश्यक हल्लाको पछाडि नलाग्न र नेपालको आफ्नो स्वतन्त्रताको पक्षमा अडिग रहनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा भारतीय पत्रकार आनन्दस्वरुप वर्माले नेपालको निर्णय नेपाली जनता र राजनीतिक दलले गर्ने भएकाले कोही कसैले अनावश्यक चासो लिनु आवश्यक नभएको बताउनुभयो । नेपालमा संविधान बनेकामा भारतीय जनताले स्वागत गरेको उहाँको कथन थियो । सो पुस्तकमा संविधान लेखन प्रक्रिया, एमाओवादी भूमिकालगायत एक दर्जन लेख समेटिएको छ ।