भारत हाम्रो भरपर्दो मित्र हो : एमाले अध्यक्ष ओली


Oli Delivers Remarks

kp oliनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारीपछि राजनीतिक सङ्क्रमणकाल समाप्त भएकाले केही दलले असन्तुष्टि व्यक्त गर्ने क्रममा गरेको हिंसात्मक गतिविधि अस्वीकार्य भएको बताउनुभएको छ । ओलीले विश्वका कुनै पनि मुलुकका भन्दा लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा नेपालको संविधान कमजोर नरहेको दाबी गर्दै संविधानसभाको व्यापक सहभागिताका आधारमा निर्मित संविधानलाई मान्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “लोकतन्त्रमा केही कुरामा चित्त बुझेन भन्दैमा आन्दोलनका नाममा निर्दाेष व्यक्ति र प्रहरीमाथि आक्रमण, व्यक्तिका घर, सरकारी कार्यालय तोडफोड, सीमामा अवरोधजस्ता कार्य स्वीकार्य छैन । संविधानमा मेरो पनि चित्त नबुझेका केही विषय छन् तर संविधान मेरा लागि मात्र होइन, यो देशलाई अघि बढाउने दस्तावेज हो ।” तराई मधेस केन्द्रित दलका कुनै असन्तुष्टिका विषय भए वार्तामा बसेर सङ्घीयताको हेरफेर गर्न सकिने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले तत्कालका केही साना स्वार्थ पूरा गर्न ठूला उपलब्धिलाई ओझेल पार्न नहुने भन्दै उहाँले संविधान जारी भएपछि नेपाल र भारतका बीचको सम्बन्ध बिगार्ने प्रयास भए पनि त्यो सफल नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँको भनाइ थियो – “भारत हाम्रो भरपर्दाे मित्र हो, उसका विरुद्ध केही गर्नुपर्ने कारण वा त्यस्तो कुनै योजना नेपालको छैन, यो कुरा भारत सरकारले बुझेको हुनुपर्छ तर संयुक्त राष्ट्रसङ्घको सदस्य रहेको स्वतन्त्र सदस्य नेपालले आफ्नो संविधान जारी गर्नु पनि उत्तिकै स्वाभाविक कुरा हो ।” उहाँले संविधानमा सङ्घीयता, गणतन्त्र, समावेशीता र समानुपातिकलगायतका व्यवस्था गरेर जनतालाई अधिकार सम्पन्न बनाएको चर्चा गर्नु भयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले भूकम्पपछि पर्यटन क्षेत्रमा केही भ्रम रहे पनि क्रमशः पूर्ववत् अवस्थामा ल्याउन सरकारले काम गरिरहेको बताउनुभयो । एमालेका पर्यटन क्षेत्रका इञ्चार्ज सूर्य थापाले मुलुकको आर्थिक विकासको महत्वपूर्ण हिस्साका रुपमा पर्यटन क्षेत्रलाई अघि बढाउन आवश्यक रहेको धारणा राख्नु भयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?