देश स्थीर नभएसम्म तीन दलको एकता नटुट्ने नेपालको भनाई
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशको राजनीतिमा पूर्ण स्थिरता कायम नभएसम्म प्रमुख तीन दलको सहकार्य नटुट्ने बताउनुभएको छ । नेकपा (एमाले), पाँचथर—काठमाडौँ सम्पर्क मञ्चको ११औँ सम्मेलनको उद्घाटन गर्दै उहाँले देश विकासका लागि वामपन्थी शक्ति लोकतन्त्रवादीसँग मिलेर जानुपर्ने बताउँदै आफ्नो पार्टीको तर्फबाट सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले विगतमा पनि लोकतन्त्र स्थापनाका निम्ति काँग्रेस–कम्युनिष्ट एकजुट भएर आन्दोलन गर्दा सफल भएको दृष्टान्त प्रस्तुत गर्दै भन्नुभयो, “विगतका दुवै मिलेर काम गर्दा राणा तथा पञ्चायत विरोधी आन्दोलन सफल भयो, अहिले पनि संविधान निर्माण कार्य सम्पन्न भएको छ ।” अर्को प्रसङ्गमा नेता नेपालले देशका केही भागमा आन्दोलनरत पक्षलाई वार्ताद्वारा समाधान खोज्न आग्रह गर्दै भन्नुभयो, “तपाइँहरूका माग जायज छन् भने आउनुहोस्, छलफल गरेरै समाधान गरौँ ।” नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले असन्तुष्ट पक्षका माग संविधान संशोधनमार्फत पूरा गर्नसकिने ठाउँ रहेको बताउँदै भन्नुभयो, “गतिशीलता र परिवर्तनशीलता यो संविधानको राम्रो पक्ष हो ।” कार्यक्रममा पूर्व राज्यमन्त्री डम्बरसिं सम्बाहाङ्फे, एमालेका केन्द्रीय सदस्य गणेश काम्बाङ, नेकपा (माले) का प्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङलगायतले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेकाले अबको शासन व्यवस्था निरंकुश र एकात्मक हुन नसक्ने बताउनुभयो ।
यसैबीच, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि प्रमुख तीन दलबीचको सहयात्रा कायमै रहने बताउनुभएको छ । विभिन्न सञ्चार माध्यमका सम्पादकसँग आज यहाँ आयोजित अनौपचारिक छलफल कार्यक्रममा उहाँले केही दिनमा तीन दल — नेपाली काँग्रेस, एमाले र एनेकपा (माओवादी) को सहमतिको राष्ट्रिय सरकार गठन हुने, र त्यो सरकारले राष्ट्रिय दृष्टिकोणका साथ मुलुुकको आर्थिक उन्नति र समृद्धिका लागि काम गर्ने लक्ष्यसाथ आफूहरू अघि बढेको जनाउनुभयो । अध्यक्ष ओलीले संविधान आएपछि छिमेकी मुलुक भारतसँग केही कुरामा असमझदारी भएको हुनसक्ने भएकाले उसका जायज चासोलाई सम्बोधन गर्न आफूहरू तयार रहेको जनाउनुभयो । संविधानको घोषणासँगै हाल उत्पन्न भएको भारतीय सीमाबाट आपूर्तिमा असहजता हुनु नपर्ने आफ्नो बुझाई रहेको जनाउँदै उहाँले भन्नुभयो, “हामीले भारतसँग औपचारिक र अनौपचारिक विभिन्न तहमा छलफल जारी राखेका छौँ, यो समस्या चाँडै हल हुनेछ ।” संविधानमा असन्तुष्ट मधेसकेन्द्रित दलका माग आफूले नबुझेको भन्दै उहाँले संविधानले सबै क्षेत्र र वर्गलाई समान र लोकतान्त्रिक अधिकार दिएपनि जनतामा त्यसबारे केही भ्रम सिर्जना गरिएको उहाँको भनाइ थियो । “विगतमा पहिचानका नाममा उठेका विवाद अहिले चिरिएका छन् । हामी सच्चिएर अघि बढेका छौँ”–उहाँले भन्नुभयो, “तराईका एफएम रेडियोले अब भ्रम र विवादका विषयलाई स्थान नदिई सहयोग गर्न म आग्रह गर्दछु ।” कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, सचिवहरू प्रदीप ज्ञवाली र योगेश भट्टराईलगायत नेता उपस्थिति हुनुहुन्थ्यो भने अधिवक्ता टीकाराम भट्टराईले संविधानमा भएका नागरिकता, निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी, सङ्घीयता, विशेष पद (राष्ट्रपति, उपराष्ट्रपति) का लागि वंशजको नागरिक हुनुपर्नेलगायत व्यवस्था लोकतान्त्रिक रहेको प्रकाश पार्नुभएको थियो ।