सातौं गैरआवासीय नेपाली विश्व सम्मेलनको तयारी अन्तिम चरणमा : प्रवक्ता केसी
गैरआवासीय नेपाली संघ एनआरएनए सातौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एमएनटीभीसँग कुरा गर्दै एनआरएनएका प्रवक्ता मन केसीले पुननिर्माणमा विश्वभर छरिएर रहेका नेपालीहरुले कसरी योगदान पुर्याउन सक्छन् भन्नेमा नै सम्मेलन केन्द्रित हुने जानकारी दिए । यतिबेला एनआरएनएका अध्यक्ष शेषघलेसहित केही पदाधिकारी काठमाडौं पुगिसकेका छन् । अक्टोबर १४ देखि १७ सम्म औपचारिक कार्यक्रमहरु भएपनि ८ तारिखबाट नै सम्मेलनपूर्वका कार्यक्रमहरु नियमित हुनेछन् । यसअन्तर्गत ८ तारिखमा नेपाली भाषा साहित्यको प्रबद्र्धनमा प्रवासी नेपालीको समेत भूमिकालाई लिएर प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिने भएको छ भने अक्टोबर ९ तारिख बागलुंगमा गैरआवासीय नेपाली संघले निर्माण गरेको विज्ञान प्रयोगशाला र पुस्तकालयको उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै एनआरएनले अक्टोबर ११ तारिखलाई हरेक वर्ष एनआरएन डेका रुपमा मनाए अनुरुप यस पटक भूकम्पबाट प्रभावित जिल्लाहरुमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर एनआरएनडे मनाउने भएको छ । यस्तै सम्मेलन पूर्व १२ र १३ तारिख काठमाडौंमा विभिन्न कार्यशाला गोष्ठीहरु हुनेछन् । यिनमा गैरआवासीय नेपाली संघ, नेपालमा रहेका विज्ञहरुसहितबाट छलफल गरी पुननिर्माणमा एनआरएनको भूमिका, विकासका अन्य कार्यहरु, शिप, दक्षता अभिबृद्धिमा एनआरएनको अनुभव साट्ने कार्य हुनेछन् । यस्तै एनआरएनले बाचा गरेको हजार घर बनाउने कार्यलाई कार्यान्वयन गर्ने विषयमा पनि सरकारी निकायहरुसँग अन्तरक्रियाहरु हुनेछन् । कार्यक्रमबारे थप जानकारी दिँदै प्रवक्ता केसीले भने “१४ र १५ अक्टोबरमा अन्तर्राष्ट्रिय साधारण सभाहरु हुनेछन् । १६ तारिख उद्घाटन हुनेछ भने १७ तारिख सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।”