अष्ट्रेलियाको पर्थबाट एनआरएनको कोषाध्यक्ष पदमा भैरव ढकालको उम्मेद्वारी


Bhairab Dhakalएनआरएन आईसीसी सदस्य भैरव ढकालले आगामी कार्यकालका लागि गैरआवासीय नेपाली संघको कोषाध्यक्षको पदमा उम्मेद्वारी दिएका छन् । पर्थमा रहेका ढकाल एनआरएनका सक्रिय सदस्य मानिन्छन् । सोमबार साँझ पर्थमा आयोजना गरिएको एक विशेष कार्यक्रममा ढकालले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । ढकालले प्रवासी नेपालीले नयाँ नेपाल निर्माणको महाअभियानमा थप क्रियाशीलता देखाउनुपर्ने बताए । एमएनटीभीसँग कुरा गर्दै ढकालले भने, “एनआरएनएको अबको नेतृत्व सामु संस्थागत हितसँगै देश र देशबासी नेपालीको बृहत्तर हितमा काम गर्नुपर्ने निकै ठूलो जिम्मेवारी छ । खासगरि, बैशाख १२ गतेको विनाशकारी भूकम्पले हजारौँ नागरिकको दुःखद निधन भएको, लाखौँ घरबारविहीन भएको अवस्थामा हामी प्रवासी नेपालीले देशमा पु¥याएको योगदानले एनआरएनको छवि उच्च बनेको छ ।”

विज्ञप्ति यस्तो छ :

लामो समयको त्याग, बलिदानीपछि अन्ततः हाम्रो मातृभूमि नेपालले नयाँ संविधान पाउँदा प्रवासमा रहेका हामी लाखौँ लाख नेपालीहरु हर्षित भएका छौँ । प्रवासमा रहँदा पनि हरपल मातृभूमिको चिन्तामा डुबिरहने हामी प्रवासी नेपालीहरुमा नयाँ संविधानले एकखाले आशाको सञ्चार गरिदिएको छ । प्राकृतिक र सांस्कृतिक रुपमा धनी हाम्रो सुन्दर, शान्त र विशाल देशलाई समृद्ध पथमा लैजान नेपालमा रहेका नेपालीमात्रै होइन्, संसारभर छरिएका हामी प्रवासी नेपाली दाजुभाइ, दिदीबहिनीबीच आपसी समन्वय, मेलमिलाप तथा भाइचाराको खाँचो देखिएको छ । राजनीतिक दलहरु मिलेर अब मुलुकको एकमात्र एजेण्डा आर्थिक समृद्धि हुने बताइरहेका बेला देश र देशबासी नेपालीको प्रवासी नेपालीसँग झनै ठूलो आशा र अपेक्षा रहेको मैले पाएको छु । नयाँ नेपाल निर्माणको महाअभियानमा हातेमालो गर्न पाउनु पक्कै पनि हामी प्रवासी नेपालीका लागि गर्वको कुरा हो ।

सुखद पनि मान्नुपर्छ, विश्वमा छरिएर रहेका ४० लाख भन्दा बढी नेपाली समुदायको साझा मञ्चका रुपमा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौँ विश्व सम्मेलन यही ऐतिहासिक क्षणमा काठमाडौँमा हुँदैछ । एनआरएनको स्थापनाकालदेखि नै संसारभरका नेपालीले उठाउँदै आएको ‘एकपटकको नेपाली, सँधैको नेपाली’ भन्ने भावनालाई नयाँ संविधानले सम्बोधन गर्दै नागरिकताको निरन्तरताको विषयलाई नयाँ संविधानले निरन्तता दिएको छ । यो संसारभर छरिएर रहेका हामी नेपालीका लागि उपलब्धिको कुरा हो । एनआरएनको एकदशक लामो अभियानपछि प्राप्त यो उपलब्धिका लागि एनआरएनका संस्थापक, अग्रज, अभियन्ता एवं सबै प्रवासी नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई बधाई दिन चाहन्छु ।

देश ऐतिहासिक मोडमा रहेको र भूकम्पले पनि थिलोथिलो पारेको यो अवस्थामा एनआरएनएको अबको नेतृत्व सामु संस्थागत हितसँगै देश र देशबासी नेपालीको बृहत्तर हितमा काम गर्नुपर्ने निकै ठूलो जिम्मेवारी हाम्रो माझमा छ । खासगरि, बैशाख १२ गतेको विनाशकारी भूकम्पले हजारौँ नागरिकको दुःखद निधन भएको, लाखौँ घरबारविहीन भएको अवस्थामा हामी प्रवासी नेपालीले देशमा पु¥याएको योगदानले एनआरएनको छवि उच्च बनेको छ । महाभूकम्पमा अहारोत्र खट्नुहुने, तन, मन र धनले सहयोग गर्नुहुने सम्पूर्ण प्रवासी नेपालीहरुमा म आभार व्यक्त गर्न चाहन्छु । एनआरएन आइसीसीको पूर्वघोषित योजना अनुसार भूकम्प पीडित एक हजार घर निर्माण गर्नुपर्नेछ । विपत्तिको क्षणमा राष्ट्रले हामीबाट गरेको ठूलो अपेक्षालाई नभुली राष्ट्र निर्माणको सच्चा साझेदार बन्नुपर्ने दायित्व हाम्रो माझमा छ । यसैगरी, काठमाडौँको बालुवाटारमा संघको आफ्नै भवन निर्माणका लागि शिलान्यास भइसकेको छ ।

अर्कोतर्फ, एनआरएनले ठूला–ठूला परियोजनामा मात्रै हात हालेको, ठूला–ठूला लगानीकर्ताको मात्र सहयात्री बनेको भन्ने गुनासालाई पनि अब सम्बोधन हुन जरुरी देखिएको छ । ठूला परियोजनामा मात्रै होइन्, साना–साना पुँजी भएका गैरआवासीय मित्रहरुलाई पनि समेटेर उनीहरुलाई सुहाउँदो परियोजनामा सामूहिक लगानीको वातावरण सिर्जना गर्न जरुरी छ, जसले गर्दा ठूला–साना सबै लगानीकर्ताका लागि लगानीको वातावरण सिर्जना होस् र देशको आर्थिक विकासमा सबै वर्ग र तप्काका गैरआवासीय नेपालीहरु समेटिनुन् । यसतर्फ अब हामीले सोच्नैपर्ने बेला आएको छ ।

यिनै अभिभारामा सहयात्री बन्नका लागि मेरा अग्रज तथा सहकर्मी मित्रहरुको सल्लाह बमोजिम यही अक्टोबर १३ देखि १७ तारिखसम्म काठमाडौँमा हुन लागेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्को महाधिवेशनमा मैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु । संघको कोष पारदर्शी, वैज्ञानिक ढंगले प्रभावकारी रुपमा चलाउने ज्ञान सीप अनुभव र योग्यता आफूसँग हुनुका साथै संघलाई आर्थिक समृद्धितिर अगाडि बढाउन मैले आफूलाई उम्मेदवारका रुपमा अगाडि सारेको हुँ । यहाँहरुलाई अवगत नै छ, म लामो समयदेखि गैरआवासीय नेपाली संघको कुनै न कुनै जिम्मेवारीमा रही आफुलाई क्रियाशिल गराउँदै आएको छु । राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको स्थापानकालदेखि विभिन्न जिम्मेवारी अनि अन्तर्राष्ट्रिय समन्वय परिषदको आइसीसीको जिम्मेवारीसम्म आइपुग्दा विश्वभरि छरिएका लाखौं नेपाली र देशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीको साझा समस्यालाई संस्थागत रुपमा समाधान गर्नमै समर्पित रहेँ । एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष, च्यारिटी कोषको अभियन्ता तथा एनआरएन आइसीसीको सदस्यका रुपमा दायित्व सुम्पनुहुने सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई आजको यस सुखद क्षणमा म स्मरण गर्न चाहन्छु । मैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको हुँ । र, यहाँहरुले दिनुहुने जिम्मेवारी इमान्दार भएर आफ्नो क्षमताले भ्याएसम्म पूरा गर्ने अठोट व्यक्त गर्न चाहन्छु ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?