एनआरएन अष्ट्रेलियाले विश्व सम्मेलनमा जाने प्रतिनिधि र उम्मेद्वारसँग अन्तरक्रिया गर्दै
गैरआवासीय नेपाली संघको सातौं विश्व सम्मेलनमा विभिन्न पदमा अष्ट्रेलियाबाट उम्मेद्वार हुने घोषणा गरेकाहरु र सम्मेलनमा प्रतिनिधित्व गर्ने सदस्यहरुबीच बृहद अन्तरक्रिया हुने भएको छ । यही शुक्रबार साँझ ६ बजेपछि आयोजना गरिने अन्तरक्रियामा उम्मेद्वारहरुले आफ्ना एजेन्डा प्रस्तुत गर्नेछन् भने प्रतिनिधिहरुले उम्मेद्वारलाई प्रश्न सोध्न सक्नेछन् । अहिलेसम्म अध्यक्षमा शेष घले, उपाध्यक्षमा शमशेरसिंह थापा, महासचिवमा रञ्जु वाग्ले, कोषाध्यक्ष भैरव ढकाल, सचिवमा गणेश केसी, युवा संयोजकमा कृष्ण गिरी र निरञ्जन प्रसाईका साथै क्षेत्रीय संयोजकमा महेन्द्र लम्साल र भूमा लिम्बुले उम्मेद्वारी दिने घोषणा गरेका छन् । केही उम्मेद्वारले काठमाडौंमा पुगेपछि माहोल हेरेर उम्मेद्वार बन्ने तयारी थालेका छन् भने उम्मेद्वारका लागि विश्वका विभिन्न देशको भ्रमण गर्ने क्रम पनि जारी राखेका छन् । अन्तरक्रिया कार्यक्रमका विषयमा सोधिएको जिज्ञासामा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स राज्य समिति संयोजक दिनेश पोखरेलले भने, “अष्ट्रेलियामा रहेको नेपाली समूदाय अत्यन्तै मेलमिलापपूर्वक बसेको छ । एनआरएनको कुनै पदमा उम्मेद्वार हुनु, जित्नु भनेको समाजका लागि, समूदायका लागि थप काम गर्ने प्रतिबद्धता हो भन्ने हामीले बुझेका छौं । यसैले एकआपसमा परिचय, एजेन्डाको विषयमा स्पष्टता आओस् र विश्वमञ्चमा जाँदा अष्ट्रेलियावासी नेपालीको एकता देखियोस् भनेर पनि हामीले यो कार्यक्रम गर्ने सोच बनाएका हौं ।” पोखरेलले उम्मेद्वारहरुलाई आफ्ना एजेन्डा प्रस्तुत गर्न पूर्वतयारीसहित सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । यसैबीच, एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले विश्व सम्मेलनमा अष्ट्रेलियाबाट आईसीसी सदस्यसहित १ सय १५ जना प्रतिनिधि रहने जानकारी दिएका छन् । रकडेलस्थित एभरेष्ट फंक्सन सेन्टरमा डिनरसहितको अन्तरक्रिया कार्यक्रम हुनेछ । अन्तरक्रिया कार्यक्रमको सहयोगी एनआरएन राज्यपरिषद् न्यूसाउथवेल्स र एमएनटीभी रहेको छ ।