एनआरएन ओसेनिया क्षेत्रीय संयोजक पदमा रमेश पाण्डेको उम्मेद्वारी, डेप्युटीमा होम पाण्डे
एनआरएनको सातौं विश्व सम्मेलनमार्फत नयाँ नेतृत्व चयनमा अष्ट्रेलियाको उम्मेद्वारी घोषणाको क्रम अझै जारी छ । यसैक्रममा पछिल्लो पटक ओसेनिया क्षेत्रीय संयोजक र उपसंयोजक पदमा उम्मेद्वारी घोषणा भएको छ । संयोजकमा रमेश पाण्डेले आफ्नो दाबी प्रस्तुत गरेका छन् भने उपसंयोजकमा होम पाण्डेले आपूmलाई अघि सारेका छन् । एक विज्ञप्ति प्रकाशित गर्दै क्षेत्रीय संयोजक पदमा उम्मेद्वारी दिएका पाण्डेले भने, “अष्ट्रेलिया, न्यूजिल्याण्ड, पपुवान्यूगिनीसहितका यो क्षेत्रलाई हाँक्नका निम्ति र केन्द्रसँग नयाँखालको सम्बन्ध विस्तारका निम्ति मैले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सोच बनाएर उम्मेद्वारी घोषणा गरेको हुँ । साथै, मलाई एनआरएनको अभियानमा धेरै अघिदेखि लागिरहेको हैसियतमा पनि साथीहरुले जोड गर्नुभयो । यसैकारण मैले उम्मेद्वार बन्ने निधो गरेको हुँ ।” एजेन्डा के हुन् त रु भन्ने हाम्रो जिज्ञासामा रमेश पाण्डेले भने, “मुख्यतः ओसेनिया क्षेत्रमा अष्ट्रेलियाले धेरै काम गरेको छ । उदाहरणीय प्रयासहरु पनि भएका हुन् । तर, योसँगै न्यूजिल्याण्ड र पपुवान्यूगिनीलाई जगाउनुपर्ने आवश्यकता छ । यी क्षेत्रमा पनि धेरै कार्यक्रमहरु आयोजना गर्दै समग्रमा ओसेनिया क्षेत्रमा रहेका नेपालीहरुलाई एकताबद्ध गराउने मेरो योजना हो । यसका साथै म एनसीसीहरु र आईसीसीको बीचमा प्रभावकारी समन्वयकर्ता बनेर सहयोग गर्न चाहन्छु । मलाई आशा छ साथीहरुले विश्वास गर्नुहुनेछ ।” यस्तै उपसंयोजकमा उम्मेद्वारी घोषणा गरेका होम पाण्डेले भने, “नेपाल र नेपालीका निम्ति केही गर्ने भनेर म यो अभियानमा आएको थिएँ । एनआरएन अभियान अघि बढ्दै जाँदा हरेक पटक मैले आपूmलाई प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको छु । पछिल्लो पटक निर्वाचनको कमिटीमा रहेर पनि मैले काम गरेको सबैलाई थाहा नै छ । कामसँगै नेतृत्वविकास गर्दै जानुपर्ने पनि समयको आवश्यकता हो । यसैकारण मैले यसपटक धेरै अगाडि नबढीकन ओसेनिया क्षेत्रिय उपसंयोजक पदमा उम्मेद्वारी दिएको छु । मुख्यतः मैले उठ्न चाहेको यो पदमा रहेको व्यक्तिको काम भनेकै संयोजकसँग समन्वय र सहकार्यमा अघि बढ्ने हो । यसका साथै मेरा केही कार्यक्रमहरु पनि छन् जसलाई म यस क्षेत्रबाट काठमाडौं जाने साथीहरुमाझ राख्ने तयारी गरिरहेको छु ।” यसअघि अष्ट्रेलियाबाट उम्मेद्वारी घोषणा गर्नेहरुमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष पदका लागि शमशेरसिंह थापा, महासचिव पदका लागि वर्तमान सचिव रञ्जु वाग्ले थापा, कोषाध्यक्ष पदका लागि वर्तमान आईसीसी सदस्य एवं पर्थका एनआरएन अगुवा भैरव ढकाल, सचिव पदमा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी, युथ कोअर्डिनेटरमा वर्तमान डेप्युटी युथ कोअर्डिनेटर कृष्ण गिरी र निरञ्जन प्रसाईका साथै ओसेनिया क्षेत्रीय संयोजकमा महेन्द्र लम्साल, रमेश पाण्डे र भोमा लिम्बु, ओसेनिया क्षेत्रीय उपसंयोजकमा न्यूजिल्याण्डबाट चक्र थापा र अष्ट्रेलियाबाट होम पाण्डे अघि आइसकेका छन् । उम्मेद्वारहरुले विज्ञप्ति निकालेर, पत्रकार सम्मेलनको कार्यक्रम गरेर उम्मेद्वारी दिने योजनाबारे जानकारी दिएका छन् । अष्ट्रेलियामा १ सय १५ जना अधिवेशन प्रतिनिधिहरु रहनेछन् ।