नयाँ सरकार गठनबारे प्रारम्भिक छलफल सुरु
नयाँ संविधान जारी भएपछि सुरु हुने व्यवस्थापिका–संसद्को अधिवेशनबारे तीन दलको बैठकमा छलफल भएको छ । बैठकमा व्यवस्थापिका–संसद्ले निर्वाचनसम्बन्धी तयार पारेका नयाँ नियमावलीबारे शीर्ष नेतृत्वका बीचमा प्रारम्भिक छलफल भएको उपसभापति पौडेलले जानकारी दिनुभयो । तीन दलको बैठकमा नेका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र नेकपा (एमाले)का प्रमुख सचेतक अग्नि खरेल समेतको सहभागिता थियो । भोलि शुक्रबारदेखि सुरु हुने व्यवस्थापिका–संसद्को बैठकले नयाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, व्यवस्थापिका–संसद्का सभामुख र उपसभामुख चुन्ने छ । “नयाँ संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन” – बैठकपछि एमाओवादी अध्यक्ष दाहालले भन्नुभयो । उहाँले भन्नुभयो – “नयाँ संविधान कार्यान्वयनका लागि दलहरुबीच अहिलेको सहमति, सहकार्य र एकतालाई कायम राखिराख्नुपर्छ ।” राष्ट्रिय सहमतिको सरकारमा संसद्को चौथो शक्ति राप्रपा नेपाललाई समेत समेटिनुपर्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले बताउनुभयो । राष्ट्रिय सहमतिको सरकार गठनका लागि १६ बुँदे सहमतिमा मोटामोटी सहमति भइसकेकाले अब यस विषयमा लामो कुराकानी गरिरहन नपर्ने अध्यक्ष दाहालको भनाइ थियो । तीन दलको बैठकमा नेकाका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति पौडेल, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षद्वय भण्डारी र भीम रावल तथा एकीकृत नेकपा (एमाओवादी)का तर्फबाट अध्यक्ष दाहाल, उपाध्यक्ष श्रेष्ठ लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो । उहाँहरुबीच करिब तीन घन्टा छलफल भएको थियो ।