दश हवाई यात्रुसहित इन्डोनेसियाली विमान बेपत्ता


planeदश जना यात्रुसहित इन्डोनेसियाको प्रान्तीय राजधानी माकसारका लागि मासाम्बा विमानस्थलबाट छुटेको जहाज सुलाबेसी टापुबाट सम्पर्क बाहिर गएको यहाँका अधिकारीले शुक्रबार जनाएका छन् । जहाजमा चार जना वयस्क, तीन जना बालक र तीन चालक दलका सदस्य सवार रहेका थिए । स्थानीय समयअनुसार २ बजेर २९ मिनेट जाँदासम्म विमानले टावरसँग सम्पर्क गरेको यहाँको हवाई ट्राफिक नियन्त्रण कार्यालयले जनाएको छ । डीएचसी¬–७ नामक ट्वीनअटर जहाज कुनै पनि टावरसँग सम्पर्कमा नआएकाले विमान दुर्घटनामा परेको हुनसक्ने जनाइएको छ । इन्डोनेसियाली खोजी तथा उद्धार समन्वय संस्थाका प्रमुख बामवाङ सुलिस्त्योले एएफपीलाई बताउनुभयो “हामी थप सूचनाको पर्खाइमा छौँ । उद्धार कार्यमा केही कमी नहोस् भनेर म र मेरो समूह शुक्रबार राति नै मासाम्बा जाँदै छौँ ।” शनिबार बिहानदेखि नै उद्धारकार्य सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । सवेरैैदेखि उद्धारकार्य सुचारु गरिने छ, सुलिस्त्योले थप्नुभयो । “अहिले रात परिसकेको छ तर, नयाँ सूचना प्राप्त गर्ने बित्तिकै उद्धारको थप प्रयासलाई अघि बढाइने छ, ” उहाँले भन्नुभयो । सामानयतया, मासाम्बा विमानस्थलदेखि माकासार पुग्न विमानलाई करिब एक घण्टा लाग्ने गर्छ । तर, विमानस्थलबाट जहाज छुटेको ८ मिनेटपछि उक्त जहाज सम्पर्क बाहिर गएको माकासार विमानस्थलका महाप्रबन्धक अब्दुल मुनिरले स्थानीय एक टेलिभिजन च्यानलसँगको कुराकानीमा बताउनुभयो । एभिस्टार मन्दिरी इन्डोनेसियाको आन्तरिक यात्रुवाहक विमान हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?