सरकार बनेपछि अहिलेका समस्या समाधान हुँदै जाने एमाले अध्यक्ष ओलीको भनाई
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारको गठनसँगै विद्यमान समस्या समाधान भएर जाने बताउनुभएको छ । युवा सङ्घको बैठकलाई सम्बोधन गर्दै उहाँले सकेसम्म सहमतीय नभए बहुमतीय सरकार चाँडै गठन भइ जनताले भोग्नु परेका समस्याहरू समाधान हुँदै जाने बताउनुभयो । संविधानसभाबाट संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गर्दा जनजीवन प्रभावित भएको भन्दै उहाँले उक्त नाकाबन्दी वार्ताका माध्यमबाट छिट्टै अन्त्य हुने उल्लेख गर्नु भयो । अध्यक्ष ओलीले भन्नुभयो, “वार्ताका माध्यमबाट अघोषित नाकाबन्दी अन्त्य गर्ने प्रयत्न भइरहेको छ, धेरै आत्तिनु पर्दैन, नेपाल–भारतबीच छिट्टै मैत्रीसम्बन्ध अझ अगाडि बढ्नेछ ।” नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले समुद्रसँग जोड्नका लागि अधिकार भएको बताउँदै उहाँले नाकाबन्दी भएर पनि नयाँ संविधान पाएकामा नेपाली खुसी भएको विचार व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो–“संविधानमा तराईका हकअधिकार सुनिश्चित नभएको हल्ला चलाएर भ्रम फैलाउने गलत काम भएको छ, त्यस्तो गलत शब्द प्रयोग गरेर संविधानको व्याख्या गर्नुहुँदैन ।” उहाँले प्रतिक्रियावादीको चलखेलका कारण पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको र दोस्रो संविधानसभामा उनीहरूको जोर नचलेपछि मधेसी जनतालाई उचाल्ने काम भएको बताउनुभयो । युवा सङ्घमा देखिएको विवादलाई आन्तरिकरूपमा समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “राष्ट्र निर्माणमा एकताबद्ध भएर अगाडि बढ्नुपर्छ, विवादमा अल्झिनु हुँदैन ।” कार्यक्रममा युवा सङ्घका इन्चार्ज शेरधन राईले सङ्घलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभयो । सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालका अनुसार सङ्घका अध्यक्ष निरूपालको अध्यक्षतामा बसिरहेको बैठकले संविधान जारी भएपछि उत्पन्न अवस्थालाई ध्यान दिँदै नयाँ कार्यक्रम तय गर्नेछ ।