मधेसी मोर्चाले बनायो वार्ता टोली, लक्ष्मण कर्णको नेतृत्व  


laxmanसंयुक्त लोकतान्तिक मधेसी मोर्चाले सरकारसँग जुनसुकै बेला वार्ता गर्न तयार रहेको बताएको छ । मोर्चाको बैठकले वार्ता गर्नका लागि चार सदस्यीय वार्ता टोली गठन गर्दै तीनदलसहितको सरकारी वार्ता टोलीसँग वार्ता गर्न तयार भएको जनाएको हो । वार्ताटोलीमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, सङ्घीय समाजवादी फोरम नेपालका लालबाबु राउत, तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता सर्वेन्द्रनाथ शुक्ल र तराई मधेस समाजवादी पार्टीका वरिष्ठ नेता रामनरेस राय रहनुभएको छ । “हामी वार्ताको पक्षमै छौँ, वार्ताको वातावरण बनाउनका लागि आज वार्ताटोली गठन गरेका हौँ । सरकारी वार्ताटोलीबाट तदारुकता आएको खण्डमा हामी जुनसुकै बेला वार्तामा बस्न तयार छौँ”– मोर्चाको एक घटक सद्भावना पार्टीका सहअध्यक्ष कर्णले भन्नुभयो ।सहअध्यक्ष कर्णले वार्ताका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने भन्दै त्यसका लागि मोर्चा पनि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । बैठकपछि मोर्चाले विज्ञप्तिमार्फत सरकारले उपयुक्त वातावरण बनाउनुपर्छ भन्दै आफ्नो प्रस्तावका साथ प्रस्तुत हुने सार्थक र परिणाममुखी वार्ताका लागि सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?