अष्ट्रेलियामा रुपन्देही सोसल नेटवर्कको स्थापना, राज खनालको अध्यक्षतामा समिति बन्यो
रुपन्देही जिल्लाबाट अष्ट्रेलियामा आएका नेपाली समूदायका सदस्यहरुले रुपन्देही सोसल नेटवर्क स्थापना गरेका छन् । आइतबार सिड्नीस्थित स्थानीय टेम्पे पार्कमा सम्पन्न भएको भेलाले रुपन्देही सोसल नेटवर्क दर्ता गर्ने प्रक्रिया सुरु गरेको हो । यस्तै संस्थाको विधान समेत निर्माणको तयारी भइरहेको छ । उक्त भेलाले राज खनालको अध्यक्षतामा कार्यसमिति पनि बनाएको छ । जसमा उपाध्यक्षमा सन्तोष केसी, महासचिवमा कृष्ण गैरे, कोषाध्यक्षमा रोशन कोइरालालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा भुवनहरि पाण्डे र चुन्ना क्षेत्री रहेका छन् । समितिले पूर्णता पाइनसकेको र अझै सदस्यहरु थप गर्ने योजना रहेको अध्यक्ष खनालले एमएनटीभीलाई जानकारी दिएका छन् । यस्तै भेलाले प्रोजेक्ट म्यानेजरमा मुक्तिराम पोखरेल र सांस्कृतिक संयोजक गायक ईश्वर पोखरेललाई तोकेको छ । संस्थाको सल्लाहकार समितिमा डा. प्रकाश पौडेल, डा. रमेश पौडेल, रामजी विष्ट, भरत देवकोटा र भिष्म भण्डारीलाई चयन गरेको छ । आइतबार आयोजना गरिएको बार्बिक्यू कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन एनएसडब्लुका संयोजक दिनेश पोखरेल, व्यवसायी धर्मराज अधिकारी लगायत नेपाली समूदायका अगुवाहरुले संस्थालाई सफलतापूर्वक अघि बढ्न शुभकामना दिएका थिए । मुख्यतः रुपन्देही घर भई अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुलाई समेट्ने र उनीहरुको हितमा काम गर्ने नेटवर्कको उद्देश्य रहेको छ । यसका साथै, नेपालमा लुम्बिनी जिल्लाका निम्ति परोपकारी कामहरु गर्दै जाने पनि संस्थाले जनाएको छ ।