सीमावर्ती भारतीय बजारमा एक सय भारुको १ सय ८० सम्म लिन थालियो


indian noteसीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ता त्यहाँका व्यापारीबाट ठगिँदै आएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय मधेसी मोर्चाले गरेको बन्दका कारण भारतीय रुपैयाँको अभावका कारण सीमावर्ती जयनगर, बासोपट्टि, हरिने, हरिलाखी, उमगाव, मधवापुरलगायतका बजारका व्यापारीले किनमेल गर्न जाने नेपाली उपभोक्ताबाट बढी नेपाली रुपैयाँ लिने गरेको पाइएको छ । सीमावर्ती भारतीय बजार हरिनेमा गएका नेपालीले एकसय भारतीय रुपैयाँका लागि १८० नेपाली तिर्नुपरेको गुनासो गर्दै राम चौकका दिलीप केजरीवाल भन्नुभयो – “भारतीय रुपैयाँको अभावका कारण त्यहाँका व्यापारीले सर्वसाधारणलाई ठग्दै आइरहेका छन् । ” भारतीय रुपैयाँको अभावबारे राखिएको जिज्ञासामा नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक मुकुन्द महतले अहिले भारुको अभाव रहेको र अति आवश्यक पर्ने बिरामीलगायतकालाई भारु उपलब्ध गराउँदै आएको बताउनुभयो । मोर्चाको आन्दोलनका कारण सीमावर्ती क्षेत्रमा रहेका नेपाली प्रहरी चौकी हटाइएकाले केही सातायता अत्यधिक रुपमा तस्करी समेत बढेको देखिएको छ । बन्दको मौका छोपी स्थानीय व्यापारीले सीमावर्ती भारतीय बजारबाट पेट्रोल ल्याएर बढी मूल्यमा बिक्री गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?