परेको बेला नगरे एनआरएनको के काम ?
संसारभर छरिएर रहेका नेपाली नेपालीबीच आपसी दायरा सुदृढ पार्दै संगठित सञ्जाल निर्माण गरी एनआरएनमा अन्तरनिहित आर्थिक, शैक्षिक र सम्पर्क सम्बन्धको शक्तिलाई नेपाल र नेपालीको हितमा प्रयोग गर्ने उद्देश्यसहित गैरआवासीय नेपाली संघको स्थापना भएको हो । नेपालका लागि नेपालीद्वारा भन्ने मूलमन्त्र बोकेको यो संस्था आफ्नो १३ वर्षे यात्रा पूरा गरिसकेको छ । ७१ भन्दा बढी देशहरुमा वैचारिक सञ्जाालको विकास भएको छ । एक लाखभन्दा बढी रजिष्टर्ड सदस्य भएका छन् । राज्यले अत्यन्त ठूलो महत्व दिँदै एनआरएन कार्ड हुँदै संघले उच्च प्राथमिकताका साथ उठाउँदै आएको एक पटकको नेपाली सधैंको नेपाली भन्ने मुद्दालाई एक हदसम्म सम्बोधन गरेको छ । संसारभरिका राष्ट्रिय समन्वय समितिको नेतृत्वमा जान तँछाडमछाड भइरहेको छ । अन्तर्राष्ट्रिय समन्वय समितिको नेतृत्वमा उम्मेद्वारी दिनेहरुको संख्या प्रत्येक वर्ष दोब्बर हुँदै गएको छ । संघको नेतृत्वले राष्ट्रपतिदेखि विभिन्न राजनीतिक पार्टीको अतिव्यस्त नेतालाई जुनसुकै बेला पनि भेट्न सक्ने स्थिति छ । समग्रमा संघ नेपालको राजनीतिक र सामाजिक वृत्तमा राष्ट्रनिर्माणको भरपर्दो सहयात्री र राज्यको हर समस्या र संकट समाधानमा योगदान गर्न सक्ने सम्भावना बोकेको संस्थाको रुपमा स्थापित भएको छ ।
सतहीरुपमा हेर्दा संघले नेपालमा धेरै परोपकारी काम गरिआएको र अझ बढी गर्नसक्ने भएकोले विदेशबाट हुने लगानी भित्र्याउन सहयोगी हुनसक्ने सम्भावना बोकेको, विदेशमा सिकेको ज्ञान, शिप नेपालमा संगठित रुपमै भित्र्याउन सहयोगी हुने जस्ता कारणले यसलाई उच्च प्राथमिकता दिइएको देखिन्छ । यसका साथै नेपाली राजनेताहरुलाई राष्ट्र, अन्तराष्ट्रियरुपमा भ्रमणको चाँजोपाँजो मिलाउन र मञ्च उपलब्ध गराइएको कारणले पनि राज्यको कृपा संघलाई अलिबढी हुन पुगेको कुरा स्वाभाविक रुपमा बुझ्न सकिन्छ ।
गैरआवासीय नेपाली संघको समन्वयमा अन्तरनिहित शक्तिलाई भित्र पसेर महसूस गर्न प्रयत्न गर्ने हो भने माथि उल्लेखित कुराहरुभन्दा अत्यन्त बढी उपयोगी शक्ति यसमा अन्तरनिहित छ जुन नेपालका जस्तासुकै शक्तिशाली संघ संस्थामा छैन र हुन पनि सक्दैन । त्यो हो सम्पर्क सम्बन्ध र प्रभावको शक्ति ।
संघका केही दानवीरहरुले केही स्कूल बनाए होलान्, केहीले किरियापुत्री भवन बनाए होलान्, केहीले सडक बनाए होलान् केहीले बृद्धाश्रम बनाउँदै होलान् । संघका सदस्य मिलेर बाढी पहिरोमा सहयोग गरे होला । भूकम्पमा गरेको सहयोगको सर्वत्र मुलुकवासीहरुले प्रशंसा गरे होलान् । काम पनि ठूलै भयो होला, सोभन्दा बढी प्रचार भयो होला । जेसुकै भएपनि नेपाललाई परेको बेला नेपालीको नाताले गर्ने काम संघ, संघमा सम्बद्ध वा आवद्ध गैरआवासीय नेपालीले गर्दै आएको काम प्रशंसनीय छ र सम्बन्धित सबैबाट पाउनुपर्नेभन्दा अझ बढी प्रसंसा पनि पाई राखेको छ संघले । संघलेभन्दा अझ बढी संघको नेतृत्वले पाएका छन् । यो गर्वयोग्य कुरा नै हो ।
माथि उल्लेखित जस्ता कामहरु नेपालमा बसेका समाजसेवी मन भएका नेपालीहरुले चाहीँ गरेका छैनन् त रु गर्न सक्दैनन् त रु अवश्य पनि लाखौं नेपालीले सदियौंदेखि यी काम गर्दै आएका छन्, गर्न सक्ने क्षमता राख्दछन् । भूकम्पको समयमा संघले १० करोडको राहत बाँढ्यो, लाखौं नेपाली मिलेर अरबौंको राहत बाँडे । यी सबै परोपकारी कामहरु नेपालीले सदियौंदेखि गर्दै आएका हुन् र गर्ने पनि छन् । संघको कारणले विश्वमा बस्ने नेपालीहरुलाई एकताबद्ध रुपमा काम गर्न सजिलो भएको मात्र हो ।
२०६२÷६३ को जनआन्दोलनको समयमा प्रजातन्त्रप्रेमी गैरआवासीय नेपालीले गरेको योगदान अत्यन्त प्रशंसनीय थियो । अन्तर्राष्ट्रिय वृत्तबाट त्यो बेलाको सहयोग र समर्थन प्राप्त नभएको भए त्यति छोटो समयमा त्यत्रो ठूलो परिवर्तन सम्भव थिएन । २०६२÷६३ ताका संघ भर्खरै बामे सर्दै थियो । संघको सञ्जाल केही देशमा मात्रै थियो र नेपालमा पनि संघको हैसियत भर्खरै निर्माण हुँदै थियो ।
त्यस बखतको एउटा रोचक प्रसंग संघका वर्तमान र भविष्यको नेतृत्वको लागि उपयोगी हुन सक्छ । राजाले सत्ता हत्याउनभन्दा केही अघि एनआरएनए अष्ट्रेलियाको गठन गरिएको थियो । उक्त संस्थाको पहिलो बैठक राजाले शासन लिएको केही समय पछि बोलाइएको थियो । राजाको निरंकुश शासनभित्र संघ फष्टाउन नसक्ने मेरो विचार थियो । मैले यो विचार संघका केही अन्तर्राष्ट्रिय नेताहरुलाई पनि पठाएको थिएँ । अष्ट्रेलियामा भएको संघको पहिलो बैठकमा मैले राजाको निरंकुश शासनभित्र संघ फष्टाउन नसक्ने भएकोले उक्त कदम नेपाल र नेपालीको हितमा नहुने तर्क गर्दै संघले अन्तर्राष्ट्रिय रुपमा उक्त कदमको विरोध गर्नुपर्ने प्रस्ताव राखें । अष्ट्रेलियामा संघ भर्खरै गठन भएको, राजाको कदमको पक्षमा पनि ठूलो मत रहेको र संघ राजनीतिक विषयमा निरपेक्ष रहने अन्तर्राष्ट्रिय नीति रहेको जस्ता कुरा भएपछि भर्खरै स्थापित संस्थामा अनावश्यक विवाद नआओस् भनी मैले प्रस्ताव फिर्ता लिएँ । समय वित्दै गयो । हामी लोकतन्त्र र मानवअधिकारप्रति निष्ठा भएकाहरुले विश्वभरि नै आफ्ना गतिविधि सञ्चालन गरेका थियौं । देश र विदेशमा भएको आन्दोलनले राजालाई गलायो । प्रजातन्त्र पुनस्र्थापित भयो । प्रजातन्त्रको पुनस्र्थापनासँगै गैरआवासीय नेपाली संघले सम्पन्न जनआन्दोलनको मुक्तकण्ठले प्रशंसा गर्दै पुनस्र्थापित प्रजातन्त्रलाई न्यानो स्वागत गर्यो । प्रजातन्त्रका हिमायती भएकोले उक्त स्वागत राम्रै लाग्यो । प्रजातन्त्र खोसिँदा चाहीँ त्यसको विरोध गर्नु राजनीतिमा प्रवेश गर्नुहुन्न भनी तर्कने अनि प्रजातन्त्र आएपछि चाहीँ हतार हतार स्वागत गर्ने कुरो विधि, नीति र तर्कसंगत लागेन । त्यसलगत्तै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनपूर्व अघोषित छलफलमा उक्त कुरा जोडदार रुपमा उठाइयो कि राजनीति सापेक्ष हुनुपर्यो कि पूरै निरपेक्ष हुनुपर्यो । ताक परे तिवारी नत्र गोतामे जस्तो व्यवहार र गतिविधि हाम्रो जस्तो ठूलो सम्भावना बोकेको संस्थाले गर्नुहुन्न भन्ने कुरा जोडदार रुपमा उठाइएपछि संघको विधानमा मानवअधिकारप्रति प्रतिबद्ध भन्ने वाक्यांश थपेर भविष्यमा राष्ट्रमा आउनसक्ने निरंकुशताविरुद्ध आवाज उठाउनसक्ने प्रावधान व्यवस्थित गरियो ।
गैरआवासीय नेपालीमा अन्तरनिहीन सम्पर्क सम्बन्ध र प्रभावको शक्ति राज्यलाई सधैं आवश्यक पर्दैन । ठूलो संकटको बेला यसको प्रयोग राज्य र राज्यबाट अपेक्षित हुन्छ । राज्यबाट अपेक्षित समयमा जनताले साँच्चै संकट परेको महसूस गरेको बेला हामीले गर्ने क्रियाकलापहरुले निर्णायक बन्न सहयोगी भएमा हाम्रो हैसियत सधैं कायम रहन्छ वा अझ माथि उठ्नेछ । जस्तो संसारभरमा छरिएर बसेका हामी नेपालीको प्रभावले भूकम्पको समयमा करोडौं थप रकम उठाउन उत्प्रेरकको काम गरेको थियो । त्यसको प्रसंसा पाउनुपर्नेभन्दा बढी नै पाएका छौं हामीले । त्यस्तो बेला गरेको काम कहिल्यै भुलिँदैन पनि ।
प्रसंग हाल नेपालमा भारतीय सरकारबाट लगाइएको नाकाबन्दीको हो । केही दिनको नाकाबन्दीले नै देश लगभग ठप्प भइसक्यो । त्यसै पनि राजनीतिक द्वन्द्वबाट क्षतविषत हुँदै गएको देश आपूर्तिको अभावका कारण ठूलो संकटमा पर्नेवाला छ । अभाव सृर्जित घृणा सुरु सुरुमा अभाव सिर्जना गर्ने विरुद्धमा लक्षित भएपनि विसतारै यो सरकार र जनताबीचको द्वन्द्वमा रुपान्तरण हुनेछ । त्यसपछि एक आपसको द्वन्द्वमा परिणत हुनेछ । देश क्षतविक्षत हुनेछ । यसको प्रभाव भर्खरै हामीले भोगेको भूकम्पको प्रभावभन्दा भयावह हुनेछ ।
गैरआवासीय नेपाली संघले यस्तो सन्निकट संकटको बारेमा आफ्नो धारणा बनाउन र आफ्नो सञ्जालको शक्ति प्रयोग गर्नु पर्दैन रु संविधान आउनासाथ संघले हार्दिक स्वागत गर्यो । राम्रो गर्यो । भारतले नाकाबन्दी लगाएपछि संघ लामो समयस्म्म मौन बस्यो । दबाब थेगन नसकेर एउटा वक्तव्य निकाल्यो । उक्त वक्तव्य संयुक्त राष्ट्रसंघको महासचिवले जारी नगरी नहुने भएकलो औपचारिकता पुर्याउनको लागि जारी गरेजस्तै कुटनीतिक शब्दले भरिएको वक्तव्य जारी भयो । उक्त वक्तव्य पढ्दा यस्तो लाग्छ कि गैरआवासीय नेपाली संघ संयुक्त राष्ट्रसंघ हो । भारतलाई प्रत्यक्ष लेख्नु र भन्नुहुन्न नत्र आफ्नो अन्तर्राष्ट्रिय हैसियतमा समस्या पर्छ । अत्यन्त कुटनीतिक हुनुपर्ने किन संघको वक्तव्य रु
कतिपय व्यक्तिले यो राजनीतिक विषय भएकोले संघले प्रवेश गर्नु विवादास्पद हुने टिप्पणी गरेको सुनेको छु । आफ्नो देशमाथि अर्को देशले नाकाबन्दी गर्दा त्यसको विरोध गर्नु राजनीतिक विषय हो कि राष्ट्रिय विषय हो रु बरु संविधान केही पार्टीहरुको असहमति बीच जारी भएको चाहीँ राजनीतिक विषय हुनुपर्ने हो ।
राष्ट्रिय संकटको यो घडीमा गैरआवासीय नेपाली संघप्रति ऐतिहासिक जिम्मेवारी आएको छ । संघको वैधानिक रुपमा संसारका ७१ देशमा स्थापित राष्ट्रिय समन्वय समितिलाई परिचालन गरी भारत सरकारले गरेको गैरन्यायिक हस्तक्षेप र नाकाबन्दीका विरुद्धमा संसारका सरकार र त्यहाँका जनतालाई नेपाल र नेपालीको समर्थन र हस्तक्षेपकारी भारतयि नीतिका विरुद्ध जनमत सिर्जना गर्नुपर्दछ । प्रत्येक देशका भारतीय दूतावास घेराउ गर्ने, विरोधपत्र दिने आदि जस्ता काम गरी निस्वार्थ रुपले राष्ट्रप्रतिको समर्पणभाव देखिने रुपले व्यक्त गर्नुपर्दछ । यदि नेतृत्वमा हुने कसैको भारतसँगको सम्बन्धको कारण त्यसो गर्न नसक्ने स्थिति छ भने उसले आपूm अलग्गै बसी अरुलाई जिम्मेवारी दिनुपर्दछ । त्यसो गर्न सके मात्र हामीलाई विभिन्न समयमा भगौडा, पलायनवादी भनी बुझेर नबुझेर अपमान गर्ने साथीहरुलाई बुझाउन थप सहयोग मिल्नेछ ।
नेपाल सरकार, राजनेता र जनताले हाम्रो संघ र यसका अध्यक्षलाई हाईहाई गरे भन्दैमा कसैले पनि धुरीमा चढ्ने प्रयत्न गर्नुहुँदैन । हाम्रो संघ नेपालको कानून अन्तर्गत दर्ता भएको सामाजिक र अधिकार क्षेत्रमा काम गर्ने संस्था हो । न यो नेपालको पार्टी हो, न सरकार, न यो राष्ट्र संघ हो । नेपालमा संघलाई दिइएको हैसियत संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरु देवमान हिराचन र जीवा लामिछाने तथा वर्तमान अध्यक्ष शेष घलेको कार्यकालमा पदमा बसेर वा बाहिरै बसेर सहयोग गर्ने सयौं एनआरएनकर्मीले संयुक्त रुपमा उपयुक्त समयमा उपयूत्तः रुपले गरेको कामको अभिव्यक्ति मात्र हो ।
नाकाबन्दीबाट सिर्जित राष्ट्रिय समस्यामा राज्यलाई संसारभरिबाट एकैचोटी एउटै आवाजमा संघको सञ्जाललाई परिचालित गरी नाकाबन्दीकारीलाई दबाब दिन संघको नेतृत्व निस्वार्थभावले अघि बढ्नु हाम्रो ऐतिहासिक दायित्व र समयको माग हो । नत्र भोलि आवासीय नेपालीले परेको बेलामा देशको पक्षमा खुट्टा टेक्न नसक्ने गैरआवासीय नेपाली संघको के औचित्य रु भनी प्रश्न उठाउँदा नाजवाफ हुने स्थिति आउन सक्छ । संघका सबै पदका प्रत्यासीहरुलाई राष्ट्रिय दायित्व र कर्तव्यबोध हुने आशाका साथ शुभकामना । नयाँपत्रिका दैनिकबाट