राष्ट्रिय लिगको फुटबलको उपाधि थ्रिस्टारलाई
थ्री स्टार क्लबले यस वर्षको राष्ट्रिय लिग फुटबलको उपाधि विजेता हुँदै रु एक करोड हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता थ्री स्टार टोलीलाई रु एक करोडको चेकसहित, ट्रफी तथा मेडल प्रदान गर्नुभयो । त्यस्तै, उपविजेता नेपाल आर्मी क्लबले रु ५० लाख तथा तेस्रो स्थानको टोली मनाङ मस्र्याङ्दी क्लबले रु २५ लाखमा चित्त बुझाएका छन् । प्रतियोगितामा विजेता थ्री स्टारका किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक, चौथो स्थान प्राप्त गरेको झापा एघारका देवेन्द्र तामाङ उत्कृष्ट रक्षक, तेश्रो स्थानको मनाङका विशाल राई उत्कृष्ट मिडफिल्डर, आर्मीका नवयुग श्रेष्ठ उत्कृष्ट फरवार्ड तथा थ्री स्टारकै राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रत्येक विधाका उत्कृष्टले एक–एक यामाहा मोटरसाइकल प्राप्त गरे । सम्पन्न निर्णायक खेलमा थ्री स्टारले मनाङलाई २–० ले हराउँदै पाखा लगाउँदै उपाधि जित्न सफल भएको हो । थ्री स्टारको जितमा विदेशी खेलाडी अफिज अलावालेले ४७औँ र विजय धिमालले अतिरिक्त समय ९२औँ मिनेटमा एक÷एक गोल गरेका थिए ।
खेलकुद विकासका लागि सरकार प्रतिबद्धः प्रम
पुरस्कार वितरणपछि पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई यथोचित महत्व दिने बताउनुभयो । खेलले राष्ट्रिय एकता, सामाजिक सद्भावको भावना बढाउन भूमिका खेल्ने बताउँदै खेलमा अनुशासनलाई विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले खेलमा सामूहिक भावनाले खेल्दा जित हासिल भएजस्तै सबै क्षेत्रमा त्यस्तै भावनाको आवश्यकता पर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “खेलमा कुन जात, के जात भनेर पास दिइँदैन, यसमा टिम स्पिरिट मिलाउन सकेमात्रै जितिन्छ ।”