सदन र सडक दुवैबाट सङ्घर्ष गर्ने योजनाअनुरुप मत प्रयोग :यादव
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाले संविधान स्वीकार गरेको भ्रम फैलाइएकाले संसद्मा मतदान गरेकोप्रति जनतामा असन्तुष्टि बढेको दाबी गर्नुभएको छ । अध्यक्ष यादवले सदन र सडक दुवैबाट सङ्घर्ष गर्ने योजनाअनुरुप आफूहरुले मत प्रयोग गरेको स्पष्ट गर्नुभयो । जनकपुरमा अगुवा कार्यकर्ता भेला अघि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले सरकारले वार्ताका लागि आह्वान गरेको पत्रमा गैरराजनीतिक र गैरसंसदीय भाषाको प्रयोग गरेकाले आफूहरुलाई दुखित बनाएको बताउँदै दुईपटक वार्ता भइसकेको अवस्थामा सोही क्रमलाई निरन्तरता दिनुपर्नेमा नयाँ शिराबाट वार्ताको पत्र पठाउनु हास्यास्पद रहेको बताउनुभयो । यद्यपि आफूहरुले पत्रको जवाफ आजै पठाएको पनि उहाँले जानकारी दिनुभएको छ । यादवले वार्तामा बस्नुअघि सरकारले मधेससित गरिएको आठ बुँदे र २२ बुँदे सम्झौतामाथि औपचारिक धारणा बनाउनुपर्ने सुझाव दिनुभयो । तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन काँग्रेसले गरेको प्रस्ताव मधेसप्रतिको ‘सेन्टिमेन्ट’ लिने प्रचारबाजी रहेको र ठाकुरले पनि अहिलेकै अवस्थामा राष्ट्रपतिका लागि तयार हुने अवस्था नरहेको जनाउनुभयो । राष्ट्रपति पदका लागि मतदान सम्बन्धमा मोर्चा बैठक बसेर निर्णय गर्ने स्पष्ट पार्दै उहाँले मोर्चाका घटकबीच कुनै प्रकारको मतभेद नरहेको समेत दाबी गर्नुभयो ।