सरकारका नयाँ मन्त्रीको सपथ, एमाओवादीबाट टोपबहादुर उपप्रधानमन्त्री र ऊर्जा
राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटा, वाणिज्य तथा आपूर्ति गणेशमान पुन, सामान्य प्रशासन रेखा शर्मा र सिँचाइ मन्त्री उमेश यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । यस्तै, बिना विभागीय मन्त्री रामजनम चौधरी र विश्वेन्द्र पासवानले पनि आजै पद तथा गोपनीयताको शपथ लिनुभयो । शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सभामुख ओनसरी घर्ती, कामु प्रधानान्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, प्रमुख राजनीतिक दलका शीर्ष नेता, सांसदहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । गत असोज २४ गते वर्तमान सरकार गठन भएयता सरकार विस्तार भएको यो दोस्रो पटक हो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा लिइसक्नु भएको छ । एमाले अध्यक्ष ओलीले नेतृत्व गर्नुभएको वर्तमान सरकारमा एमाओवादीका आठ, एमालेका तीन, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का दुई, राप्रपा नेपालका दुई, बहुजनशक्ति पार्टीको एक र राज्य मन्त्रीमा मेघराज नेपाली निषादले समेत प्रतिनिधित्व गर्नुभएको छ ।