सयभन्दा बढीको मृत्यु हुनेगरी गरिएको आक्रमणको दोषी पहिचान
टर्कीका प्रधानमन्त्री अहमत दाभुटोग्लुले सोमबार राजधानी आङ्कारामा गत अक्टोबर १० मा गराएको दुईवटा आत्मघाती आक्रमणकारीहरूमा एकको पहिचान भएको जानकारी दिनुभएको छ । एक शान्ति यात्राका लागि भेला भएका व्यक्तिहरूमा लक्षितगरी गरिएको दुई वटा आत्मघाती आक्रमणमा परी १०२ व्यक्तिको मृत्यु भएको थियो । दाभुटोग्लुले एक टेलिभिजनलाई दिनु भएको अन्तरवार्तामा सो बम आक्रमणकारीको नाम भने खुलाउनु भएको छैन । अर्का आक्रमणको खोजी भइरहेको उहाँले बताउनुभएको छ । दाभुटोग्लुका अनुसार यस बम आक्रमणको आशङ्कामा कम्तीमा १५ व्यक्तिलाई पक्राउ गरिएको र त्यसमध्ये चार जनालाई हिरासतमा लिइएको छ । टर्कीमा कार्यरत राजनीतिक पार्टी, नागरिक समाजसँग आवद्ध संस्थाहरू र कुर्दिस समर्थक पिपुल्स डेमोक्रेसी पार्टीद्वारा आह्वान गरिएको सो शान्ति जुलुसमा सहभागिता जनाउन जम्मा भएका व्यक्तिहरूलाई लक्षित सो आत्मघाती आक्रमण भएको थियो । टर्कीको इतिहासमा नै यो एक भीषण आक्रमण भएको थियो ।