विश्वकप छनोटमा आज फाईनल भिडन्त, आयरल्याण्डसँग नेपाल आमनेसामने
आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत हिजोको भएको खेलमा नेपालले आयरल्याण्डलाई आठ विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गरेको छ । जितसँगै नेपाल जारी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । हारका बाबजूद पनि आायरल्याण्ड भने फाइनलमा पुगेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमामा भएको प्रतियोगितामा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाई १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्य लिई मैदानमा प्रवेश गरेको नेपालका लागि ओपनर सन्दीप सुनारले ८५ र सुनिल धमलाले ७५ रन बनाउँदै उत्कृष्ट पारी बनाएपछि नेपालले सहजरूपमा लक्ष्य भेट्टाएको थियो । त्यसैगरी राजु रिजालले १६ र योगेन्द्र सिंह कार्कीले चार रन बनाउँदै अविजित रहे । आयरल्याण्डलाई कम स्कोरमै समेट्न नेपालका लागि स्पिनर प्रेम तामाङले चार, ललितनारायाण राजवंशीले दुई, सुशील कँडेलले एक विकेट लिएका थिए । फाइनलमा नेपालले आज फेरि आयरल्यान्डको सामना गर्नेछ । यसअघि नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो । तेस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अर्को वर्ष बङ्गलादेशमा हुने यु–१९ विश्वकपमा स्थान सुरक्षित बनाउन बिहीबार हुने फाइनलमा आयरल्याण्डलाई हराउनुपर्नेछ ।