नेपाल ३ विकेटले विजयी, अण्डर १९ विश्वकप खेल्ने
नेपाली किशोर क्रिकेट टोलीले देशवासीलाई दशैंमा विश्वकप क्रिकेटमा छनोट भएर नयाँ उपहार दिएका छन्। मलेसियामा भइरहेको विश्वकप छनौट प्रतियोगिताको फाइनलमा आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल यु १९ विश्वकपमा छनौट भएको हो। टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले ४७।४ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन बनाएको थियो। ललित राजवंशीले ४ विकेट लिए भने आरिफ शेखले ३। त्यस्तै दीपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए। जवाफी ब्याटिङमा उत्रेको नेपाली टोलीले ४६।२ ओभरमा सौरभ खनालको छक्कासँगै विजय लक्ष्य भेट्टाएको हो। नेपाली टोलीको सुरुवात राम्रो हुन सकेको थिएन। स्कोरबोर्डमा एक रन पनि नजोड्दै सुरुवाती ब्याट्सम्यान सन्दीप सुनारलाई मिचेलले एलबिडब्लु गरे। यद्यपि अर्का ओपनर सुनील धमलाले भने सर्वाधिक ४७ रन बनाए। नेपालको ३५ रन छँदा दोस्रो विकेट गुम्यो। ११० रन बनाउँदासम्म नेपालको ४ वजिकेट गुमिसकेको थियो। राजु रिजालले ३५, आरिफ सेखले एलबिडब्लु हुनुअघि २१ र दीपेन्द्र सिंह ऐरीले २६ रन बनाएपछि नेपालले विजय लक्ष्य हासिल गरेको थियो।