गच्छदारलाई उपप्रधानमन्त्री पद महँगो बन्दै, रौतहटमा नेता कार्यकर्ताबाट विद्रोह
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका रौतहट जिल्ला अध्यक्ष अजय गुप्ता सहितले पार्टी परित्याग गरेपछि उपप्रधानमन्त्री विजय गच्छदारलाई यतिबेला निकै बेचैनी भएको छ । पार्टी सरकारमा सहभागी भएको विरोधमा जिल्ला नेता सहित जिल्ला समितिका अधिकांश पदाधिकारी र सदस्यलेपनि शुक्रबार पार्टी परित्याग गरेका छन् । मधेसी जनता आन्दोलनमा रहेका बेला मधेसको माग सम्बोधन हुन नपाउँदै पदको लोभमा केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार सरकारमा सहभागी भएपछि जिल्ला नेताहरुले यसको विरोध गरेका थिए । रौतहट जिल्ला अध्यक्ष गुप्ता, सहसचिव, कोषाध्यक्ष, कार्यसमिति सदस्यहरु र पार्टीका भातृसंगठनमा आबद्ध शिक्षक, युवा, दलित र किसान संगठनका अध्यक्ष सहित विभिन्न क्षेत्रका क्षेत्रीय अध्यक्ष समेतले पार्टी परित्याग गरेको पत्रकार सम्मेलनको आयोजना नै गरेर सार्वजनिक गरिएको हो । नेपाल भारत सीमा क्षेत्रको दशगजाको रिलेअनशन स्थलबाटै गुप्ताले परित्यागको घोषणा गरेका थिए । संघियताका सिमाकंन लगायतका विषयमा असन्तुष्टि राख्दै सुरु भएको आन्दोलनको क्रममा ४० बढीको ज्यान जाँदापनि सरकार पक्षबाट कुनै सुनवाई नभएको र आफ्नै पार्टी सरकारमा सहभागी हुनु मधेसी जनताको भावना विरुद्ध भएको भन्दै आफूहरुले पार्टी परित्याग गरेको गप्ताले बताए ।