आज सहमति नभए राष्ट्रपति–उपराष्ट्रपतिको लागि ११ गते गोप्य चुनाव


sambidhanराष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन व्यवस्थापिका– संसद्मा यही कात्तिक ११ गते हुने भएको छ । व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओन्सरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपदफा (२) अनुसार राजनीतिक सहमतिमा यही कात्तिक ८ गते १६ः३० बजेभित्र र त्यसो नभए सोही धाराको उपदफा (३) बमोजिम कात्तिक ११ गते ११ बजे निर्वाचन हुने जानकारी दिनुभयो । उहाँले व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २६ र ३८ को उपदफा (१) बमोजिम ती पदका लागि निर्वाचनको मिति तोकिनुका साथै व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नुभयो । साथै सभामुखले निर्वाचनको कार्यतालिका आजै सार्वजनिक गर्न निर्वाचन अधिकृत भट्टराईलाई निर्देशन दिनुभयो । त्यसअघि बैठकमा सभामुखले मन्त्रिपरिषद् गठन र कार्यविभाजनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गर्नुभएको थियो । सभामुखमा निर्वाचित भएपछि उहाँले सञ्चालन गरेको यो पहिलो बैठक हो ।
यस्तो छ निर्वाचन कार्यक्रम
नेपालको संविधानको धारा २९७ को उपधारा २ एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २९ र ३८ को उपदफा (१) बमोजिम हुने राष्ट्रपति र उपराष्ट्रपति पदमा राजनीतिक सहमतिमा निर्वाचन सम्पन्न गर्न कात्तिक ८ गते अपराह्न ४ः३० सम्म र राजनीतिक सहमति हुन नसकेमा कात्तिक ११ गते बिहान ११ः०० बजे निर्वाचन हुने भनी कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ । आज ८ गते राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, प्रस्ताव बमोजिमको बर्णानुक्रमअनुसार नामावली प्रकाशन गर्ने र व्यवस्थापिका–संसद्को बैठकमा राजनीतिक सहमतिको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचित भएको घोषणा गरिनेछ । राजनीतिक सहमति कायम नभएमा भने कात्तिक १० गते दिनको १ः०० बजेभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेद्वारी प्रस्ताव दर्ता गर्ने, त्यसपछि नामावली प्रकाशन गर्ने, नामावली उपर दाबी विरोध गर्ने, उम्मेद्वारी फिर्ता लिने र कात्तिक १० गते अपराह्न ३ः०० बजे नै अन्तिम नामावली प्रकाशन गरिनेछ । कार्यक्रम अनुसार कात्तिक ११ गते नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा विहान ११ बजेदेखि २ बजेसम्म मतदान भई अपराह्न २ः३० पश्चात् मतगणना र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्को बैठकमा घोषणा गरिनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?