राष्ट्रपति निर्वाचित भएपछि युवा सङ्घद्वारा दीप प्रज्वलन
नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएको खुसियालीमा नयाँ बानेश्वर तथा आसपास क्षेत्रमा दीप प्रज्वलन गरेको छ । मुलुकमा प्रथम महिला राष्ट्रपतिका रुपमा भण्डारी निर्वाचित भएकामा युवा सङ्घले खुसियाली मनाएको हो । पार्टीका केन्द्रीय सदस्य तथा युवा सङ्घका इन्चार्ज शेरधन राई, अध्यक्ष राजीव पहारीसहितको पदाधिकारी, केन्द्रीय सदस्य तथा सर्वसाधारणको सहभागितामा उक्त कार्यक्रम भएको हो । सङ्घका इन्चार्ज राईले मुलुकमा लोकतान्त्रिक अभ्यासबाट महिलाले पनि राष्ट्रपतिको अवसर प्राप्त गरेकामा खुसी व्यक्त गर्नुभयो । सङ्घका केन्द्रीय सदस्य विष्णु त्रिपाठीले संविधानसभाबाट निर्माण भएको संविधानले महिलालाई पनि जिम्मेवार पदमा पु¥याएको भन्दै यसलाई सबैले स्वीकार गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।
विराटनगरमा पनि दीपावली
विद्या भण्डारी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको खुसियालीमा विराटनगरमा दीपावली गरिएको छ । नेकपा (एमाले)का कार्यकर्ताले विराटनगरको जनआन्दोलनचोकमा मैनबत्ती बालेर दीपावली गरेका हुन् । उक्त अवसरमा एमालेका जिल्ला अध्यक्ष महेश रेग्मीलगायत पार्टीका भ्रातृ सङ्गठनका कार्यकर्ता सहभागी थिए । यसैबीच महेन्द्र मोरङ क्याम्पसका पूर्व विद्यार्थी भण्डारी मुलुकको सर्वोच्च पदमा आसिन भएकामा सो क्याम्पसका प्रमुख सरोजकुमार चौधरीले बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपतिमा भण्डारी निर्वाचित भएर क्याम्पसको गौरव बढेकामा खुसी व्यक्त गर्दै उहाँले राष्ट्रपतिको कार्यकाल सफल होस् भन्ने कामना पनि गर्नुभएको छ ।