राष्ट्रपति निर्वाचनले समावेशी समानुपातिक मान्यतालाई स्थापित गरेको छ – अध्यक्ष दाहाल
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भएको राष्ट्रपति निर्वाचनमा सक्षम महिला विजयी हुनुले समावेशी समानुपातिक मान्यतालाई साँचो अर्थमा स्थापित गरेको बताउनुभएको छ । राष्ट्रपतिको निर्वाचनपछि व्यवस्थापिका–संसद्बाट बाहिरिने क्रममा अध्यक्ष दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै केही दिनअघि सभामुखमा पनि महिला नै निर्वाचित भएको घटनाले संविधानले सबै उत्पीडित वर्ग र समुदायलाई समुचित सम्मान र प्रतिनिधित्व गराउँछ भन्ने कुराको सुनिश्चितता गरेको पुष्टि भएको बताउनुभयो । अध्यक्ष दाहालले राष्ट्रपति निर्वाचनले नयाँ संविधानको ऐतिहासिक कार्यान्वयनको प्रक्रिया सुरु गरेको बताउँदै मधेस आन्दोलनका माग सम्बोधन गर्न आफूहरू निकै गम्भीररुपले अघि बढेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो – मधेसका जनता सबै नेपाली दिदीबहिनी दाजुभाइ नै हुन् । उनीहरूका समस्या समाधान गरेर उत्साहको वातावरण बनाउनुपर्छ ।
आपूर्तिको असहज अवस्थाबारे कूटनीतिक पहल र विभिन्न विकल्प खोज्ने काम भइरहेको बताउँदै अध्यक्ष दाहालले आफूले उच्चस्तरीय राजनीतिक समितिको निरन्तर बैठक गरी समाधान खोज्ने प्रयास गरिरहेको जानकारी दिनुभयो । नेपाली जनताले केही कठिनाइ झेलेर पनि नेपाल र नेपालीको राष्ट्रिय स्वाधीनता र सम्मान कायम राख्दै आएको पनि उहाँले उल्लेख गर्नुभयो । भूकम्पको कठिन बेलामा र संविधान निर्माणमा आफू र आफ्नो पार्टीले नेपाली काँग्रेस नेतृत्वको सरकारसँग निरन्तर सहकार्य गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो – “अहिले पनि काँग्रेस सामेल भएर सहमतीय सरकार बन्नुपथ्र्यो । त्यसका लागि अन्तिम समयसम्म प्रयास गरेको हुँ । सफल नहुनु दुखद हो ।” उहाँले राष्ट्रिय समस्या समाधानका लागि काँग्रेस सहमतिमा नै अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।