जनताको अग्रगतिका लागि काम गर्छु : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको परिधिभित्र रहेर नेपाली जनताको अग्रगतिका लागि आफू लागिपर्ने बताउनुभएको छ । मदननगर बल्खुस्थित जननेता मदनकुमार भण्डारीको सालिकमा माल्यार्पण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रपति पदको गरिमा र मर्मलाई कायम राखी संविधानको व्यवस्थाअनुसार जनताको अग्रगतिका लागि काम गर्ने उल्लेख गर्नु भयो । बिहीबारबाट कार्यभार सम्हाल्नुभएका भण्डारी त्यहाँ पुग्नु हुँदा स्थानीयवासीले स्वागत गरेका थिए । सो स्थानमा यसअघि नेकपा (एमाले)को कार्यालय रहेको थियो ।