रोल्पाको उकालीदेखि उपराष्ट्रपतिको पदसम्म एउटा मगरको छोरोको यात्रा


रमेश लम्साल
एउटा सुपरिचित नाम हो, नन्दबहादुर पुन उर्फ ‘पासाङ’ । नेपालमात्र होइन विश्वभरका मान्छेले सुनेका छन् उहाँको नाम विभिन्न कोणबाट ।
पटक पटक मृत्युको मुखबाट फर्किएर नाफाको जिन्दगी जिइरहेका पुन समग्रमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको प्रतीकका रुपमा परिचित हुनुहुन्थ्यो । सशस्त्र सङ्घर्षदेखि शान्तिप्रक्रियाको पूर्णतासम्म यो नाम चर्चामा रहिरह्यो । कुनै समय यस्तो पनि थियो माओवादी अध्यक्ष पुष्पकमल दाहालपछि चर्चामा आउने नाम नै पुनको थियो । अहिले फेरि सर्वाधिक चर्चामा आएको छ यो नाम । मुलुकका पाँचवटा विशिष्ट पदमध्ये दोस्रो स्थानमा रहेको उपराष्ट्रपति पदमा उहाँ आज विजयी हुनुभएको छ । सशस्त्र सङ्घर्षका क्रममा कहिल्यै हार्न नजानेको उहाँको विशेषतामा संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा भने विराम लागेको थियो ।
pasang 1pasang2

जन्म र परिवार
नन्दकिशोर भनेर चिनिने ‘पासाङ’को वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने सशस्त्र सङ्घpasangर्षले जन्माएको नाम हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुबा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मनुभएका उहाँ पाँच भाइमध्ये माइलो हुनुहुन्छ । उहाँका तीन दिदीबहिनी हुनुहुन्छ । श्रीमती र दुई छोराका बाबु हुनुहुन्छ पुन । पुनले तत्कालीन राङ्सी निमाविबाट २०३७ सालमा ७ कक्षा उत्तीर्ण गर्नुभयो । माध्यमिक तहको अध्ययन पूरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना हुनुभयो । तर त्यहाँ उहाँलाई अवरोध भयो । प्रहरीले वारेन्ट जारी ग¥यो । विद्यालय प्रशासनले विद्यालय वा राजनीति छाड्नुपर्ने चेतावनीपछि २०३९ सालमा ९ कक्षा पढ्न थबाङ पुग्नुभयो । त्यहीँबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । विसं २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर आइएसम्मको अध्ययन पूरा गर्नुभयो । शान्ति प्रक्रियापछि अध्ययनलाई पुनः निरन्तरता दिँदै उहाँले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ । विसं २०३७ मा निमावि राङ्सीमा कक्षा ७ मा पढ्दा उहाँ अनेरास्ववियु छैटौँको एकाइ अध्यक्ष हुनुभयो । लिबाङमा पढ्दा तत्कालीन शिक्षक एवम् हालका एमाओवादीका महासचिव कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित ग¥यो उहाँलाई । महराको सरल स्वभाव र पढाउने शैलीले उहाँलाई आकर्षित ग¥यो । विसं २०३९ मा अनेरास्ववियुको बुटवलमा सम्पन्न प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलनमा रोल्पा जिल्लाबाट प्रतिनिधि भएर सहभागी भएपछि उहाँमा राजनीतिप्रति आकर्षण बढ्यो । सो सम्मेलनबाट लीलामणि पोखरेल अध्यक्ष भएको र खुसीराम पाख्रिनले गाएको गीत अहिले पनि सम्झना छ उहाँलाई । खुसीराम पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली ओराली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ पुन सम्झनुहुन्छ ।
शिक्षकको रुपमा पुन
प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पुनले पार्टी कामको साथसाथै शिक्षण पेसा पनि अङ्गाल्नुभयो । विसं २०४३ देखि आठ वर्षसम्म पहिले आफूले पढेको निमावि राङ्सीमा अध्यापन गर्नुभयो, उहाँ जाँदा जुन मावि बनिसकेको थियो भने अहिले उच्च मावि बनेको छ । पूर्वमन्त्री जयपुरी घर्ती, नेकपा–माओवादीकी नेत्री तारा घर्तीलगायतलाई उहाँले पढाउनुभएको थियो । पूर्णकालीन भइसक्दा पनि अध्यापनको काम जारी राख्नुभयो । विभिन्न खेलमा रुचि भए पनि भलिबल उहाँको प्राथमिकतामा पर्छ ।
सङ्घर्षमा पुन
बाल्यकालदेखि नै अन्याय नसहने स्वभावका पुनले रोल्पाको राजनीतिमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो जुन सङ्घर्ष सशस्त्र सङ्घर्षको आधार निर्माण थियो । दर्जनौँ विपक्षीलाई लट्ठीले एकसाथ प्रहार गर्न सक्ने उहाँको कला रोल्पामा अहिले पनि तारिफ हुन्छ, जुन कला उहाँको बुबाले सिकाउनुभएको हो । माओवादी पार्टी नबन्दै तत्कालीन एकता केन्द्रले २०४८ पछि योङ् कम्युनिष्ट लिग (वाइसिएल) लाई लडाकु दस्ता बनाएर राजनीतिक गतिविधि चलायो । त्यसबखत पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । सशस्त्र सङ्घर्षअगावै स्थानीय प्रशासनले पुनको टाउकाको मूल्य तोकेको थियो । मूल्य थियो रु ३५ हजार । जहाँ भेट्यो त्यहीँ मार्न भनेर प्रशासनले प्रहरी परिचालन ग¥यो । माओवादीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि बढी निगरानीमा राखेको उहाँले रासससँगको कुराकानीमा नै बताउनुभएको थियो । विसं २०५१ को स्थानीय चुनावका बेलामा पक्रेर १५ दिन हिरासतमा राखियो । विसं २०५१ मङ्सिर ९ गते गाउँको स्थानीय मेलामा (इरिबाङको चप्का) प्रहरीले पक्राउ गर्न खोज्यो । लट्ठी चलाउन माहिर पुनले प्रहरीलाई लट्ठीले ढालेर भाग्दै गर्दा गोली चलायो । उहाँको पाखुरामा गोली लाग्यो । तर बाँच्न सफल हुनुभयो ।
राजनीतिमा पुन
विसं २०४६ मा पार्टी सदस्य हुनुभएका पुन एकता महाधिवेशनबाट बनेको एकता केन्द्रको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ सालदेखि पूर्णकालीन भएर राजनीति सुरु गर्नुभयो । एकता केन्द्र बनिसकेपछि भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन हुनुभयो । कृष्णबहादुर महरा सचिव, सन्तोष बुढा, करुण, प्रताप र पुन रहनुभएको पाँच सदस्यीय जिल्ला समिति बन्यो । जनयुद्धको तयारी गर्दा वाइसिएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहनुभएका पुन होलेरी आक्रमण गर्दा उत्तरपश्चिम र दक्षिण कमाण्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमाण्डर हुनुभयो । माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर, डिपुटी कमाण्डर र जनसेना प्रमुख बन्नुभयो । माओवादीले निर्माण गरेको लडाकु दलको सदस्यदेखि सेना प्रमुखको जिम्मेवारी उहाँले पूरा गर्नुभयो । पुन एमाओवादीको जिल्ला सदस्य, क्षेत्रीय ब्यूरो सदस्य हुँदै माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र भारतको गोवामा बसेको बैठकबाट पोलिटब्यूरो सदस्य हुनुभयो । हाल पुन एमाओवादीको स्थायी समिति सदस्य, युवा ब्यूरो इन्चार्ज, पूर्व पिएलए सङ्घको संयोजकलगायतका राजनीतिक जिम्मेवारीमा हुनुहुन्छ । माओवादीले पश्चिम नेपालमा सञ्चालन गरेको सशस्त्र सङ्घर्षका ठूलाठूला लडाईं सबै उहाँकै नेतृत्वमा भएका थिए । प्रहरीमाथि भएका अभियान होलेरी (दोस्रो, झिम्पे, जेल्बाङ, लुहाम, महत, घर्तीगाउँ, तकसेरा, पाँचकटिया, रुकुमकोट उहाँकै नेतृत्वमा भएका हुन् । डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कर्णालीको जुम्लामाथिको आक्रमण पुनकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मङ्गलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी कब्जा उहाँकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा भएको सङ्घर्षमा पुन नै कमाण्डर हुनुहुन्थ्यो ।
शान्ति प्रक्रियाका नायक
शान्ति प्रक्रिया टुङ्गिनुमा पनि पुनको संयमताले धेरै काम ग¥यो । दलहरुले जतिसुकै सहमति वा सम्झौता गरेको भए पनि पुनले नचाहेको भए शान्ति प्रक्रिया नटुङ्गिन सक्थ्यो । शान्ति प्रक्रिया जारी रहँदासम्म उहाँले जनसेनालाई संयमताका साथ जिम्मेवार बनाएर राख्नुभयो । सातवटै लडाकु शिविरका कमाण्डरले उहाँलाई साथ दिए । त्यसमा उहाँमा भएको सैन्य नेतृत्व कलाले काम ग¥यो ।
राष्ट्रभक्त नेता पुन
पुन राष्ट्रियताप्रति बढी संवेदनशील हुनुहुन्छ । नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उहाँको बानी छ । तीन वर्ष पहिले दुवै मिर्गौला काम नगर्ने अवस्थामा पुग्दासमेत सरकार र पार्टीले विदेशमा लगेर उपचार गर्न थालेको प्रयासलाई उहाँले अस्वीकार गर्नुभयो । उहाँ नेपालमै उपचार गर्ने, मर्नुपरे नेपालमै मर्ने तर विदेशमा गएर उपचार नगर्ने अस्पतालको आइसियु कक्षबाटै घोषणा गर्नुभयो, जतिबेला डाक्टरले अवस्था असाध्यै गम्भीर भएको र दुवै मिर्गाैला ८० प्रतिशत काम नगर्ने अवस्थामा पुगिसकेको बताएका थिए । मिर्गौला नाटकीय रुपमा ‘रिकभर’ हुनु उहाँमा भएको आँटले काम गरेको बताउँछन् डाक्टरहरु । नेपालका अस्पताल र नेपालका डाक्टरहरुप्रति आफ्नो पूर्ण विश्वास भएको उहाँले बताउनुभएको थियो । त्यसपछि उहाँलाई राष्ट्रभक्तको रुपमा लिइने गरिन्छ । पुन लडाकु कमाण्डर तथा राजनीतिज्ञ मात्र नभएर दक्ष प्राविधिज्ञ पनि हुनुहुन्छ । सशस्त्र सङ्घर्षका चरणमा उहाँले ट्वेल्भ बोर, थ्री–नट–थ्री राइफल, एसएमजीजस्ता हतियार स्वयम्ले बनाउनुभयो । पुनको साहित्यमा पनि विशेष रुचि छ । उहाँले थुपै्र फुटकर गीत तथा कविता लेख्नुभएको छ । केही गीतहरु सङ्गीतबद्ध हुन बाँकी छन् । सशस्त्र सङ्घर्षको चरणमा उहाँले लेख्नुभएको ‘जनताहरु जाग्दैछन् जाग्दैछन्’ गीत चर्चित थियो । सङ्घर्ष अगाडि बढ्दै जाँदा उहाँले लेखेको ‘हामी राता मान्छे’, ‘हुरीका सन्तान हौँ हामी..’ गीत निकै चर्चित रहे । शान्ति प्रक्रियापछि उहाँले लेख्नुभएको पुस्तक ‘इतिहासको रक्तिम पाइला’ नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित भएको छ । पुन आफैँमा परिवर्तनको एजेन्डा बोक्ने, त्यसका लागि भएको सशस्त्र सङ्घर्ष र जनआन्दोलनको नेतृत्व गर्ने एक यस्तो होनहार योद्धाको नाम हो जसले जीवनका आफ्ना सबै ऊर्जाशील समय देश र जनताका पक्षमा लगाउनुभएको छ ।
आफ्नै मृत्युको खबर
सशस्त्र सङ्घर्षको दौरानमा पुनले थुपै्रपटक आफ्नो मृत्युको खबर सुन्नुभएको छ । केही मुत्युको खबरको आफैँले खण्डन गर्नुभएको छ । १९ वैशाख २०५९ मा रोल्पाको लिस्नेमा भएको भीडन्तमा ‘लिस्ने जङ्गलमा लुकेर बसेका माओवादीमाथि सुरक्षा फौजले घेराबन्दी गरी आक्रमण गर्दा ७०० माओवादीहरू मारिएका छन् । हालसम्मको ठूलो क्षति माओवादीहरुले बेहोरेका छन् । सुरक्षा फौजहरू चारैतिरबाट घेरा कस्दै गएका छन् । उक्त घेरामा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुनसक्ने आशङ्का गरिएको छ’ भन्ने समाचार आएको थियो ।
कुनै सुविधाको पद लिनुभएन
माओवादी शान्ति प्रक्रियामा आएको झन्डै १० वर्ष पुग्न लाग्दा पनि पुनले कुनै पनि सुविधाको पद लिनुभएको थिएन । उहाँका धेरै सहपाठीहरु कोही मन्त्री, कोही संसद् सदस्य र कोहीले राजनीतिक नियुक्ति खाइसकेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गरे पनि सांसद गगन थापाबाट पराजित हुनुभयो । गत १२ वैशाखमा आएको विनाशकारी भूकम्पपछि उहाँ आफू पराजित भएको क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा सक्रिय हुनुभयो । कपनस्थित उहाँको डेरारहेको घर चर्किएपछि उहाँ त्यसयता टहरोमा बस्दै आउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?