प्रहरीको गोली लागि एक भारतीयको मृत्यु, तनावपछि वीरगञ्जमा अनिश्चितकालीन कफ्र्यू
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगरक्षेत्रका केही स्थानमा अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले नेपाल–भारत सीमा नाकास्थित शङ्कराचार्यद्वारदेखि इनर्वा, बाइपास, नया“ बसपार्क, पावरहाउस चोक, राधेमाई क्षेत्र, आदर्शनगर र छपकैया लगायतका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लगाइएको प्रजिअ केशव घिमिरेले बताउनुभयो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको क्षेत्रमा एकै ठाउ“मा पा“च वा सोभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लङ्घन गर्ने प्रयास गरेमा सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्न र उक्त क्षेत्रमा कुनै किसिमको हिंसात्मक कार्य गर्नेमाथि गोलीसमेत हान्न सक्नेछ ।
नेपाल–भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर हटाएको विरोधमा वीरगन्जका विभिन्न ठाउँमा प्रदर्शन भएपछि स्थिति नियन्त्रण बाहिर पुगेको थियो । प्रदर्शनकारीले बिहानदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । वीरगन्ज उपमहानगरपालिकाको घन्टाघर, नगवा, माईस्थान, छपकैया र मुर्लीचोक लगायतका ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच बिहानदेखि पटकपटक झडप भएको थियो । विभिन्न नारा लगाउँदै प्रदर्शनमा उर्लिएका प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरेका थिए । यसअघि विहान करिब ५ बजे सुरक्षाकर्मीले धर्नामा बसेका आन्दोलनकारीलाई बल प्रयोग गरेर हटाएपछि नेपालतर्फ रोकिराखिएका भारतीय ट्रकहरूलाई भारततर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आन्दोलनकारीहरूको धर्नाका कारण विगत एक महिनादेखि बीरगन्ज नाकामा रोकिएर बसेका भारतीय नम्बरका दर्जनौं ट्रकहरूलाई सिमावर्ती भारतीय शहर रक्सौलतर्फ पठाइएको बताइएको छ । आन्दोलनका कारण नेपालतर्फ रोकिएका भारतीय ट्रकमध्ये बिहान ९ बजेसम्म करिब २०० ट्रकलाई भारततर्फ पठाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । भारतको विहार राज्यमा चुनाव भइरहेको सन्दर्भमा नेपाल–भारत सीमा नाका बन्द गरिएको बेला रातिको समयमा मितेरी पुलमा थोरै सङ्ख्यामा रहेका मधेसकेन्द्रित दलका कार्यकर्तालाई सुतेको समय पारेर सुरक्षाकर्मीले एकाबिहानै बल प्रयोग गरेर त्यहाँबाट हटाएको थियो । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीलाई हटाउने क्रममा अटेर गर्ने पाँचजना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको र बाँकी आन्दोलनकारी भारततर्फ भागेका हुन् । भारतीय नम्बरका ट्रकलाई वीरगन्जबाट रक्सौलतर्फ पठाइएको भए पनि अहिलेसम्म भारततर्फबाट कुनै पनि ट्रक नेपाल छिर्न नपाएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । आन्दोलनकारी सुतिरहेका बेला प्रहरीले एक्कासि अत्यधिक बल प्रयोग गरेको र आन्दोलनकारीका ओढ्ने र बिछ्याउने बन्दोबस्तीका सामानमा प्रहरीले आगो लगाउनुका साथै आन्दोलनकारीले प्रयोग गर्दै आएको टेन्ट पनि प्रहरीले लुटेर लगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता प्रदीप यादवले बताउनुभयो । आन्दोलनकारी पुनः अहिले मितेरी पुलमा धर्नामा बसेका छन् । गाउँगाउँबाट ठूलो सङ्ख्यामा आएका आन्दोलनकारीले जुलुस प्रदर्शन गर्दै मितेरी पुलमा धर्नामा बसेका छन् । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा वीरगन्ज भन्सार नाका र मितेरी पुल क्षेत्र तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको जनाएको छ ।
एक भारतीयको मृत्यु
प्रहरीको गोली लागेर वीरगञ्जमा यहा“ एक व्यक्तिको मृत्यु भएको छ । नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेटनजिक सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा स्थिति नियन्त्रणमा लिने प्रहरीले चलाएको गोली लागेर अन्दाजी २० वर्षीय युवकको मृत्यु भएको छ । उनको पहिचान अझैसम्म पनि खुलेको छैन । टाउकोमा गोली लागेका ती युवकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले प्रहार गरेको रबरको गोली लागेर पाँचजना भन्दा बढी घाइते भएको सुरक्षा स्रोतले जनाएको छ । घाइते हुनेहरूमा वीरगन्ज रामटोलका रबि यादव, रेशमकोठीका गोविन्द साह, भेडियारीका भुलन साह र शिवजी साह सोनार लगायत रहेका छन् । उनीहरूको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये शिवजी साह सोनारको स्वास्थ्यस्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ । त्यस्तै, प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा आठ सुरक्षाकर्मीसहित १८ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीको लाठी प्रहारबाट आदर्शनगरका राहुल दास, सरोज कुमार, राकेश गुप्तालगायतका व्यक्ति घाइते भएका छन् ।