मोर्चाले भन्यो, वीरगञ्ज घटनाले वार्ताको वातावरण विथोल्यो
संयुक्त लोकतान्त्रिक मेधेसी मोर्चाले सरकार र आन्दोलनकारी पक्षबीच बन्दै गएको सकारात्मक वातावरणलाई वीरगन्जमा भएको घटनाले खण्डित तुल्याएको जनाएको छ । वीरगन्ज घटनाले सरकारले वार्तालाई रणनीतिको रुपमा प्रयोग गर्न खोजेको आभास भएको मोर्चाले आरोप पनि लगाएको छ । मोर्चाद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले वार्तालाई सार्थक र परिणाममुखी बनाउन प्रयास भइरहेका बेला वीरगन्ज घटनाले त्यसमा प्रश्न खडा गरेको छ भन्नुभयो । वार्ता बिथोल्ने काम सरकारबाटै भएकाले वार्ताको औचित्य समाप्त हुँदै गएको उहाँको भनाइ थियो । पत्रकारसम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भने अविलम्बरुपमा सरकार जिम्मेवार ढङ्गले प्रस्तुत भई वार्ताको वातावरणलाई सहज बनाउन भूमिका निर्वाह गरोस् भनिएको छ ।