वीरगञ्जमा गोली लागेर मृत्यु भएका व्यक्ति बिहारी भएको पुष्टी, शवको परिवारबाट पहिचान


indian killedप्रहरीले प्रहार गरेको गोली लागेर मृत्यु भएका व्यक्ति भारतीय नागरिक भएको पुष्टि स्थानीय प्रशासनले गरेको छ । नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेट नजिक सुरक्षाकर्मी र प्रदर्शनकारीबीच आज दिउँसो भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेमा सीमावर्ती भारतीय सहर रक्सौल– ११ मेनरोडका २० वर्षीय आशिषकुमार राम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो । मृतक आशिषकुमारका बुबा अशोक राम र मामा रवि राम नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर शव पहिचान गरेका हुन् । आशिष सामान किन्नका लागि वीरगन्ज गएको उनका परिवार स्रोतले जनाएको छ । मृतकको साथबाट दुईवटा भारतीय नम्बरको मोबाइल सेट बरामद गरी सोही फोनबाट आफन्तलाई फोन गरेपछि उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरे पनि प्रदर्शनकारीले निषेधाज्ञाको अवज्ञा गर्दै साँझ ६ बजेसम्म वीरगन्जका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र प्रदर्शन गरिरहेका छन् । अहिले पनि प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?