रहस्यमय बन्दै रुसी विमान प्रकरण, प्राविधिक कारणले दुर्घटना नभएको कम्पनीको दाबी
इजिप्टको सिनाई प्रान्तमा दुर्घटना भएको रसियाली विमान कम्पनी मेट्रोजेटका प्राविधिक अधिकारीहरूले विमान बाह्य प्रभावका कारण दुर्घटना भएकोे सोमबार जनाएका छन् । विमान दुर्घटनामा प्राविधिक समस्या नदेखिएको विमान कम्पनीका पा्रविधिकले जनाएका हुन् । यसअघि शुक्रबार दुर्घटनाग्रष्ट उक्त विमान प्राविधिक समस्याका कारण भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रसियाली सुरक्षा अधिकारीलाई बताएका थिए । त्यस्तै, इजिप्टमा आतङ्ककारी गतिविधि सञ्चालन गर्दै आएको इस्लामिक समूह (आईएस) ले विमान दुर्घटनामा आफ्ना संलग्नता रहेको दाबी आईएसको ट्वीटर एकाउन्टमा शनिबारै गरेको थियो । विमान सेवा कम्पनी मेट्रोजेटका प्राविधिकहरूले आफ्नो विमान एक बाहिरी प्रभावका कारण भएको जनाएको छ । आईएस समूहको विमान दुर्घटनामा आफ्नो संलग्नता रहेको भन्ने कुरालाई खण्डन गर्दै अधिकारीले भने आईएसले आफूले विमान दुर्घटना गराएको दाबी गरे पनि विज्ञद्वारा दुर्घटना अतिवादी इस्लामिक समूहबाट गराउन सक्ने कुरामा विश्वास गर्न सकिँदैन । मेट्रोजेटका अधिकारीले बाह्य प्रभावका कारण विमानको दुर्घटना भएको जनाउँदै भने, यसमा प्राविधिक गढबढी तथा चालकको कमजोरी केही नभएको प्रारम्भिक अनुसन्धानबाट भन्न सकिन्छ । बेलायती विश्लेषक पल विभरले आईएस समूहसँग रसियाली दुर्घटनाग्रस्त विमान जस्ता मेट्रोजेटलाई खसाल्न सक्ने कुनै हतियार नभएको बताएका छन् । विमान ३१ हजार फिटको उचाईबाट उडिरहेको बेला दुर्घटनाग्रस्त भएको र आईएससँग उक्त उचाईमा आक्रमण गर्ने क्षेप्यास्त्र नभएकोले आईएसको संलग्नता सम्भावना छैन, उहाँले थप्नुभयो । यसैबीच, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले इजिप्टमा भएको रसियाली विमान दुर्घटना साह्रै ठूलो विपद् भएको बताउनुभएको छ । दुर्घटनापछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उहाँले भन्नुभयो, २२४ जना लिई उडिरहेको विमान दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ । रसियाली विमान ए–३२१ इजिप्टको सामएल सेखबाट चालक दलका सात सदस्य र २१७ यात्रु लिएर रसिया जाने क्रममा इजिप्टको सिनाइ टापुमा दुर्घटनाग्रस्त भएको थियो । रसियाली विमान सेवा कोगालिमावियाको ए ३२१ नम्बरको सो एयर बस स्थानीय समयअनुसार शनिबार बिहान ५.५१ बजे उडेको थियो । रसियाको सेन्ट पिटसबर्गका लागि उडेको सो विमान २३ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो । यसैबीच, विमान उद्धार कार्यमा संलग्न अधिकारीले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न सहयोगी मानिने ‘ब्लाकबक्स’ आइतबार फेला परेको र आवश्यक अनुसन्धान भइरहेको जनाएका छन् ।