नयाँ शक्ति निर्माण अभियान लिएर गोरखाको गाउँ भ्रमणमा डा भट्टराई
देशमा नयाँ शक्तिको आवश्यकता रहेको बताउँदै आउनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नयाँ शक्ति निर्माणको अभियान लिएर गोरखाको गाउँगाउँ भ्रमणमा निस्कनुभएको छ । गोरखा क्षेत्र नं १ को फिनामबाट भट्टराईले जनता भेटघाट कार्यक्रम सुरु गर्नुभएको हो । गत संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–१ बाट निर्वाचित भए पनि हालै एमाओवादी परित्यागसँगै सांसद पद पनि त्याग गर्नुभएको छ । आज भट्टराई फिनाम हुँदै ताप्लेको कोखे आहलेका जनतासँग भेटघाट गरेपछि अश्राङ हुँदै बोर्लाङ पुग्नुभएको छ र बोर्लाङमा बस्ने कार्यक्रम रहेको छ । त्यस्तै भोलि बोर्लाङको क्यामुन्टार, पिपलटार, हटियालगायत ठाउँका स्थानीयवासीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको भट्टराई निकट गोरखाका नेता रमेश पोखरेलले बताउनुभयो । क्षेत्र नं १ को ताक्लुङ, घैरुङका जनतासँग पनि नयाँ शक्ति निर्माणको आवश्यकताबारे, एमाओवादी परित्याग गर्नुका कारणबारे छलफल हुने कार्यक्रम तय भएको छ । नयाँ शक्तिलाई साथ दिन भट्टराईले पूर्व मतदातासँग आग्रहसमेत गर्नुभएको छ । भट्टराईले संविधान निर्माण भइसकेका अवस्थामा अब नयाँ गतिका साथ देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान नयाँ शक्तिको आवश्यकता रहेको बताउनुभयो । आफूले मत दिएर निर्वाचित गराएको नेताले निर्वाचन क्षेत्र छाडेको, एमाओवादी छाडेको भन्दै केही कार्यकर्ता असन्तुष्ट देखिएका छन् । गाउँका स्थानीय खेतको धान काट्न छाडेर भट्टराईले आयोजना गरेको विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुन पुगेका छन् ।