आपूर्ति व्यवस्थापनको समस्यालाई राजनीतिक र कूटनीतिक तरिकाले समाधान गरिने छ – उपप्रधानमन्त्री रायमाझी
उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नेपाल र भारतबीच देखिएको आपूर्ति व्यवस्थापनको समस्यालाई राजनीतिक र कूटनीतिक तरिकाले समाधान गर्ने प्रयास भइरहेको बताउनुभएको छ । मन्त्री रायमाझीले भूकम्प तथा मधेसको आन्दोलनका कारण समस्यामा रहेको नेपाललाई अघोषित नाकाबन्दीले थप सङ्कटमा पारिदिएपछि अहिले मुलुकलाई आत्मनिर्भर बनाउने अर्थतन्त्रको खाँचो महसुस गरिएको बताउनुभयो । ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति र ऊर्जा सङ्कट समाधानका लागि सरकारले तात्कालिक, मध्यकालीन र दीर्घकालीन योजनालाई अघि सार्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “तिहारअघि हामीले यसको सम्भाव्यताको अध्ययन गरिरहेका छौँ । तिहारपछि भने ‘एक्सन’ मा जानेछौँ ।” मन्त्री रायमाझीले मुलुकमा भइरहेको विद्युत् कटौतीको समस्या समाधानका लागि निमार्णाधीन जलविद्युत् आयोजनालाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याइने विश्वास पनि दिलाउनुभयो । मधेस आन्दोलनका मागलाई संविधान संशोधनमार्फत सम्बोधन गरिने उल्लेख गर्दै उहाँले यसका लागि आफू पनि अनौपचारिकरुपमा वार्तामा लागिरहेको बताउनुभयो ।
संविधान निर्माणताका राजनीतिक दलबीच देखिएको एकता कार्यान्वयन गर्ने समयमा टुटे पनि दलबीचको एकता कायमै रहनुुपर्ने उहाँको भनाइ थियो ।