एन्फाका पदाधिकारीलाई छानबिनको दायरामा ल्याउन माग


anfaअखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पाले खेल मिलेमतोको छानबिनमा एन्फाका पदाधिकारीलाई समेत तान्नुपर्ने बताउनुभएको छ । उहाँले एन्फाको नेतृत्व तहमा रहेका व्यक्तिकै मिलेमतोमा यस्तो अपराध भएको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो । म्याच फिक्सिङमा खेलाडीले टोकन मनी लिएको हुनसक्ने उहाँको भनाइ थियो । विगतदेखि नै एन्फामा भ्रष्टाचार भइआएको भएपनि राज्यले त्यस विषयमा खासै चासो नदेखाएको पूर्व उपाध्यक्ष शेर्पाको गुनासो थियो । नेपाली काँग्रेसका खेलकुद विभाग प्रमुख धनराज गुरुङले म्याच फिक्सिङमा संलग्न व्यक्तिमाथि तत्काल छानबिन गरी कारबाही थाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले एन्फा अध्यक्ष गणेश थापाले रु ५८ करोड भ्रष्टाचार गरेको ठहरसहित संसद्को सार्वजनिक लेखा समितिले कारबाही प्रक्रिया अघि बढाउन आवश्यक कागजात पठाए पनि त्यसलाई अख्तियारले थन्काएर राखेका प्रसंग पनि उल्लेख गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले भने अनुसन्धान पूरा नभई ‘म्याच फिक्सिङ’ बारे आफूले अहिले केही नबोल्ने बताउनुभयो । म्याच फिक्सिङबारे एन्फासँग परिषद्ले स्पष्टीकरण मागिसकेको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले गत असोज २७ गते राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रीतेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?